काठमाडौं– स्थायी घर गुल्मी भएका दिनेश राना काठमाडौंमा बिबिएस पढ्दै छन्। दोस्रो चरणको चुनावको मिति नजिकिँदै गर्दा भोटका लागि जिल्लाबाट राजनीतिक दलका नेताहरुको फोन तारन्तार आइरहन्छ। भोट हाल्न घर जाने कुराले दिनेश किन फुरुंग छन् भने, गोगंबुको नयाँ बसपार्कबाट गुल्मी लैजान विभिन्न राजनीतिक दलले गाडी रिजर्भ गरेर राखेका छन्।
गुल्मी मात्र होइन, यतिबेला काठमाडौं उपत्यकाबाट जिल्लाहरुमा मतदाता ओसार्न विभिन्न राजनीतिक दलले गाडीको व्यवस्था गरिदिएका छन्। वामपन्थी र लोकतान्त्रिक गठबन्धनको होडबाजी राष्ट्रिय राजनीति र चुनावी प्रचारप्रसारमा मात्र छैन,काठमाडौंबाट विभिन्न जिल्लामा मतदाता ओसार्नेमा पनि छ।
दोस्रो चरणमा मंसिर २१ मा ४३ जिल्लामा हुने निर्वाचनमा सहभागी हुन काठमाडौंबाट बाहिरिने यात्रुको संख्या दिनप्रतिदिन बढ्दो छ।
राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाका अनुसार, करिब ३ सय बस विभिन्न राजनीतिक दलले मतदाता ओसार्न रिजर्भ गरेका छन्। रिजर्भ गरिएका गाडीमा छोटोदेखि लामा दूरीका साधन छन्।
साना माइक्रोदेखि रात्रिकालीन गाडीसम्म दलहरुले मतदाता ओसार्न प्रयोग गरेका छन्। महासचिव सिटौलाका अनुसार, १९ गतेसम्म उपत्यका बाहिरिने यात्रुको चाप निरन्तर रहनेछ।
दोस्रो चरणको निर्वाचनका लागि १४ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।