इलाम– फाकफोकथुम गाउँपालिका–१ चित्रेमा दुई महिलाको शंकास्पद मृत्यु भएको छ। यही मंसिर १२ गते बिहान सोही स्थानकी ३२ वर्षीया सन्चु राई गाईको गोठमा मृत फेला परेकी थिइन्। सन्चुको टाउकोमा चोट लागेको र गाईले लात्तीले हानेको हुनसक्ने स्थानीयले अनुमान गरेको प्रहरीले जनाएको छ। सन्चुको शव नजिकै गाईलाई खुवाउन राखिएको घाँस नजिक फलामको ढुङ्ग्री (सोते) भेटिएको आमचोक प्रहरी चौकीका प्रहरी नायब निरीक्षक देवीबहादुर कार्कीले जानकारी दिए।
सन्चुको शव रहेको घटनास्थलको सर्जिमिन सकिएलगतै उनकै भतिजा बुहारी पर्ने सोही स्थानकी ३४ वर्षीया बिमला राई पनि उनकै घरमा झुन्डिएर मृत अवस्थामा फेला परेकी थिइन्। नाताले काकी सासु र भतिजा बुहारी पर्ने दुवैको मृत्यु भएपछि घटनाको अनुसन्धान भइरहेको इलामका प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।
मृतक दुवैको शवपरीक्षण भइसकेको छ। प्रहरीका अनुसार सन्चु र बिमलाको एकवर्ष अघि झगडा भएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।