काठमाडौं- उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले आसन्न निर्वाचनलाई शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्न सबै उपाय अवलम्बन गर्ने निर्णय गरेको छ। समितिको शुक्रबार बसेको बैठकले निर्वाचन सम्पन्न गर्न सुरक्षा रणनीति तथा कार्यनीतिमा परिमार्जन गरी कडाइका साथ अघि बढ्ने निष्कर्ष निकालेको हो।
समितिको संयोजक निर्वाचन आयुक्त सुधीरकुमार साहले निर्वाचनमा चुस्त, प्रभावकारी र परिणाममूलक सुरक्षा प्रबन्ध मिलाउन समन्वयका साथ काम गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन दिए। उनले निर्वाचन सुरक्षालाई सुदृढ बनाउन राजनीतिक दलले पनि शंकास्पद व्यक्ति तथा समूहका शंकास्पद गतिविधिबारे सुरक्षा निकायलाई जानकारी दिन आवश्यक रहेको उल्लेख गरे।
बैठकमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनमा शान्ति सुरक्षालाई सुदृढ बनाउन सुरक्षा निकायले बिशेष जोड दिनुपर्ने बताए।
गृहमन्त्रालयका सचिव मोहनकृण्ण सापकोटाले मतदाताले भयमुक्त भएर भोट हाल्ने वातावरण सुनिश्चित गर्न नेपाली सेनासहित चारवटै सुरक्षा निकाय परिचालिन भएको बताएका थिए। बैठकमा सबै सुरक्षा निकायका प्रमुख उपस्थित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।