झापा- झापा क्षेत्र नम्बर-४ मा नेकपा एमाले र माओवादी केन्द्रको वाम गठवन्धनबाट एलपी साँवा र नेपाली कांग्रेसका तर्फबाट देउकुमार थेबे प्रतिनिधिसभाको सदस्य पदका लागि प्रतिस्पर्धा गर्दैछन्।
२०७० को दोस्रो संविधानसभा चुनावमा नेपाली कांग्रेसका केशवकुमार बुढाथोकीसँग झिनो मतले पराजित भएका सावाँ यो पटकको चुनावमा पनि बलिया प्रतिस्पर्धी मानिएको छ। बाम गठवन्धनलाई राप्रपा नेपालको पनि समर्थन रहेकाले कांग्रेस उम्मेदवार थेबेको तुलनामा एमाले उम्मेद्वार साँवा सहज अवस्थामा रहेको स्थानीयबासी बताउँछन्।
संविधानसभाको दोस्रो चुनावमा हारे पनि आफ्नो निर्वाचन क्षेत्रको विकासमा निरन्तर लागिपरेकाले जनताले मत दिने साँवाको विश्वास छ। उनले भने, 'मेरो क्षेत्रमा कृषि व्यावसाय गर्नेहरुसंख्या बढी छ। मजदुरको अभावले खेतिपातीको काममा समस्या आइरहेको छ। अब आधुनिक उपकरणबाट खेतिपाती गराउन पहल गर्छु। झापा गाँउ पालिकालार्इ मकै जोन बनाउने लक्ष्य लिएको छु। त्यसैगरी, सबै सामुदायिक विध्यालयको शिक्षाको स्तर निजी स्कुलसरह बनाउने पनि मेरो लक्ष्य छ।'
झापा क्षेत्र नम्बर-४ मा सुकुम्बासी समस्या पनि लामो समयदेखि समाधान हुन सकेको छैन। यस क्षेत्रका कुल जनसंख्याको ४० प्रतिशतले अझै जग्गाको लालपुर्जा पाएका छैनन्। साँवाले भने, 'लालपुर्जा विहीनलार्इ लालपुर्जा उपलब्ध गराउन मैले पहल गर्नेछु।'
झापाको शिवसताक्षी नगरपालिका-४ दूधेमा स्थार्इ घर भएका साँवाले धरानको केन्द्रीय प्रविधि हात्तिसार क्याम्पसबाट २०४३ सालमा स्ववियु सभापति जितेसँगै राजनितिक यात्रा सुरु गरेका हुन्। सावाँ विध्यार्थी राजनीतिसँगै एमाले निकट उद्योग व्यावसायी संगठनको संस्थापक सचिव र वुद्धिजिवी संगठनका सदस्य भइसकेका छन्।
सुरुंगा निवासी कांग्रेसका उम्मेदवार देउकुमार थेबे पनि चुनाव जित्ने दाबीका साथ प्रचारप्रसारमा जुटेका छन्। उनी कांग्रेसका पूर्व जिल्ला उपसभापति हुन्। त्यसैगरी, थेबे २०४९ र २०५४ मा साविक कुमारखोद गाँउ विकास समितिका अध्यक्ष थिए।
थेबेले गाउँपालिकामा नेतृत्व गर्दादेखिको अनुभवका आधारमा यहाँका जनताको सेवा गर्ने बताएका छन्।
झापा-४ मा झापा गाँउपालिका, गौरादह नगरपालिकाको वडा नम्बर ९, गौरिगञ्ज गाँउपालिकाको वडा नम्बर १ र २, कन्कार्इ नगरपालिकाको वडा नम्बर १ देखि ७ र शिवशताक्षिधाम नगरपालिका पर्छन्।
स्थानीय तहको निर्वाचनमा झापा गाँउ पालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा एमालेले जितेको थियो। त्यसैगरी, १ र ३ वडा कांग्रेसले जितेको छ भने २, ४, ६ र ७ वडामा एमाले विजयी भएको छ। त्यसैगरी, गौरादह वडा नम्बर ९ र गौरीगञ्ज वडा नम्बर १ र २ मा पनि कांग्रेसले नै वडा अध्यक्ष जितेको छ। कन्कार्इ नगरपालिकाको मेयर र उपमेयरसित वडा १, २ र ७ मा एमाले विजयी भएको छ भने वाड नम्बर ३, ४, ५ र ६ मा कांग्रेसले जितेको छ।
त्यसै शिवसताक्षी नगरपालिकामा मेयर र उपमेयरसहित वडा नम्बर १, २, ३, ५, ७, ८, ९, १० र ११ मा एमालेले जितेको छ भने वडा नम्बर ६ मा कांग्रेसले जितेको छ।
स्थानीय तहको निर्वाचन परिणाम अनुसार क्षेत्र नम्बर-४ का १२ वटा तहमा एमाले र ९ वटा तहमा कांग्रेसले जित हात पारेको छ।
निर्वाचन आयोगका अनुसार यस क्षेत्रको कुल मतदाता संख्या १ लाख ९ हजार ३ सय ९१ छ। त्यसमा स्थानीय तहमा झरेको मतको गणना गर्दा वाम गठवन्धनको पक्षमा ३७ हजार ८ सय ११ र कांग्रेसको पक्षमा २२ हजार ९ सय ७३ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।