रत्ननगर– जिल्ला प्रहरी कार्यालय चितवनले निर्वाचन सुरक्षा योजना अनुसार हरेक निर्वाचन क्षेत्रमा ‘सर्च एन्ड स्विप अपरेसन’ सुरु गरेको छ।
चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार निर्वाचनको मिति नजिकिएसँगै सुरक्षामा चुनौती थपिने भएकाले निर्वाचनपूर्वको सुरक्षा योजना अनुसार उक्त अपरेसन सुरु गरेको जानकारी दिए।
'शुक्रबारबाटै हरेक निर्वाचन क्षेत्रमा प्रहरीको दुईवटा टोली परिचालन गरिएको छ,' ढकालले भने, 'कुनै शंकास्पद गतिविधि देखिने बित्तिकै प्रहरीले अनुसन्धान थालिहाल्नेछ।'
विभिन्न शंकास्पद ठाउँको पहिचान भएकाले सो क्षेत्रमा प्रहरी परिचालन गरेर आपराधिक क्रियाकलाप र निर्वाचन विरोधी गतिविधि नियन्त्रणका लागि खोजी अभियान चलाइएको ढकालले जनाएका छन्। मुख्यतः अहिले देशभरि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले बम पड्काउने जस्ता अवाञ्छित क्रियाकलाप गरिरहेकाले अपरेसन टोलीले यस्ता गतिविधिलाई बढी निगरानीमा राखेको उनको भनाइ थियो।
प्रहरी उपरीक्षक दीपक थापाले गलत क्रियाकलापको शंका लागेमा आवश्यक सूचना उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेका छन्।
गुण्डागर्दी नियन्त्रण, मदिरा नियन्त्रण, लागुऔषध, आपराधिक क्रियाकलाप नियन्त्रण, निर्वाचन विरोधी क्रियाकलाप र हतियार नियन्त्रणसहित विभिन्न पाँचवटा रणनीतिका साथ प्रहरीले जिल्लामा सुरक्षा योजना लागू गरेको थापाले बताए।
जिल्ला सुरक्षा समितिले चितवनका १ सय ६१ मध्ये ५२ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको छ। सोही अनुसारको सुरक्षा व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए। उनले सुरक्षा समितिले निर्वाचन पूर्व, निर्वाचनका बेला र निर्वाचनपछिका लागि फरक/फरक सुरक्षा योजना बनाएर लागू गरिने बताए।
जिल्लामा १ हजार ७ सय १० म्यादी प्रहरी र ३ हजार २ सय ९५ जनपद प्रहरी परिचालन गरिएको र आवश्यकता अनुसार सशस्त्र प्रहरी र नेपाली सेना समेत परिचालन हुने जनाइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।