नेपालगन्ज– सामान्य विवादलाई धर्मसँग जोडेर हेर्ने प्रवृत्तिका कारण नेपालगन्जमा हिन्दू र मुस्लिम धर्मावलम्वीबीचको वर्षौंदेखिको सुमधुर सम्बन्धमा बेलाबखत समस्या पर्ने गरेको छ।
मूर्ति बिर्सजन र ताजिया सेलाउँदा होस्, सार्वजनिक जग्गाको उपभोगको विषयमा होस् या हिन्दू–मुस्लिम युवा—युवतीबीचको बिहेबारी नेपालगन्जमा हिन्दू र मुस्लिम समुदायबीच पटक–पटक झडप हुने गरेका छन्।
सामान्य विवादले उग्ररुप लिएर तनाव हुने अवस्था आउनासाथ सामाजिक अगुवा र धर्म गुरुहरु सक्रिय हुन्छन् र तनावलाई मत्थर पारिदिन्छन्। तनाव मत्थर भएपछि विवादको कारण खोज्ने र त्यस्ता विवादलाई दोहोरिन नदिन दोषीलाई कारबाही गर्ने र थप सुरक्षा सर्तकता अपनाउने तर्फ स्थानीय प्रशासनले प्रयास नगर्दा स्थिति सामान्य बने पनि विवादको जड भने कायमै रहने गरेको छ।
२०७३ मंसिरको अन्तिम साता बाँकेको मटैयामा मुस्लिम समुदायले ‘मोहम्मद डे’ मनाउने क्रममा स्थानीय दुई समुदायबीच झडप हुँदा २ जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भए। झडपका कारण गत वर्ष एक सातासम्म मटैया तनावग्रस्त रह्यो। तनावलाई साम्य पार्न स्थानीय बासिन्दा, नागरिक समाजका अगुवा र धर्म गुरुहरु अग्रसर भए। हिन्दू र मुस्लिम धर्म गुरुहरु नै मटैया पुगेर सम्झाइबुझाई गरेपछि स्थिति साम्य भयो। तर, झडप हुनुको कारणबारे गम्भीरतापूर्वक छानबिन गरेर, दोषीमाथि कानुन बमोजिम कारबाही गर्ने भन्दा पनि तनावलाई थामथुम पार्ने काम मात्रै भयो।
त्यही मटैया गाउँमा बागेश्बरी असल शासन क्लबले सामाजिक सद्भाव बढाउनका लागि नागरिक समाजका अगुवा, धर्म गुरुहरु, शिक्षक, विद्यार्थी र सञ्चारकर्मीबीच अन्तक्र्रिया गरेको छ। गाउँका अगुवालाई छिमेकी गाउँको भ्रमण गराएर एकअर्काको धर्मसंस्कृति र परम्पराको सम्मान गर्दै मिलीजुली बस्दाका फाइदाबारे अनुभव साटासाट गरेका छन्।
छिमेकी गाउँहरुमा सद्भावना भ्रमण हुन थालेको छ। एकले अर्काको भावनालाई सम्मान गर्दा आपसमा सौहार्दता र भाईचारा विकास हुने अनुभव उनीहरुको छ।
जसका कारण गत वर्ष तनावग्रस्त रहेको मटैया अहिले शान्त छ। अरु गाउँमा पनि यस्तो तनाव नहोस् भनेर मटैयाबासीले कामना गरिरहेको मटैयाका वडा अध्यक्ष कृष्णचन्द्र मौर्यले बताए।
दण्डहीनताका कारण सामाजिक सद्भावका प्रयास समेत प्रभावकारी नभएको भन्दै धर्म गुरुहरुले चिन्ता व्यक्त गर्दै आएका छन्। धर्म गुरु र स्थानीय अगुवाको सक्रियातामा नेपालगन्जमा एक दर्जनभन्दा बढी विवाद साम्य भए पनि प्रशासन चनाखो नहुने हो भने यस्ता घटना दोहोरिन सक्ने उनीहरुको बुझाइ छ।
नेपालगन्जमा सामान्य विवादलाई धर्मसँग जोडेर हेर्ने प्रवृत्तिका कारण हिन्दू र मुस्लिम धर्मावलम्वीबीच पटक–पटक झडप हुन थालेपछि हिन्दू, मुस्लिम, वौद्ध, क्रिस्चियन र शिख धर्म गुरुहरु एकजुट भई धार्मिक सद्भाव समिति गठन गरेर सक्रिय भएका छन्।
यसैबीच, बाँकेका धर्म गुरुहरुले निर्वाचनका बेला समाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम राखी शान्तिपूर्ण रुपमा निर्वाचन सफल पार्न अपिल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।