काठमाडौं– प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मङ्सिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा आम मतदाताले निर्भीकतापूर्वक मतदान गर्ने वातावरण निर्माणका लागि थप सुरक्षा गतिशीलता बढाउन सरकार र सुरक्षा निकायसँग आग्रह गरेका छन्।
दोस्रो चरणको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन मंसिर २१ गते ४५ जिल्लामा हुँदैछ। आयोग केन्द्रीय कार्यालयमा आज आयोजित अभिमुखीकरण कार्यक्रममा प्रमुख आयुक्त यादवले मतदाता, उम्मेदवार, निर्वाचनमा खटिएका कर्मचारी, मतदान सामग्रीको सुरक्षामा विशेष जोड दिन आग्रह गरे।
दोस्रो चरणको निर्वाचनलाई स्वतन्त्र, स्वच्छ र विश्वसनीय बनाउन आयोगले विभिन्न जिल्लामा सुक्ष्म अनुगमनकर्ता खटाएको बताउँदै प्रमुख निर्वाचन आयुक्त यादवले दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिता पालना गरे÷नगरेको बिषयमा अनुगमन गरी तत्कालै आयोगमा जानकारी दिन सुक्ष्म अनुगमनकर्ताहरुलाई निर्देशन दिए।
स्वतन्त्र र निष्पक्ष भएर आयोगले दिएको जिम्मेवारी सजग र सचेतताका साथ निर्वाह गर्न सुक्ष्म अनुगमनकर्तालाई निर्देशन दिँदै उनले निर्वाचनमा एउटा सानो कमजोरी र त्रुटिबाट समग्र निर्वाचनप्रति प्रश्न उठ्न सक्ने भएकाले त्यसतर्फ सजग रहन ध्यानकर्षण समेत गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।