इटहरी– सुनसरी क्षेत्र नम्बर ३ का नेपाली काग्रेसका उम्मेदवार बिजय गच्छदारलाई लक्षित गरी राखेको बम बिष्फोट हुँदा इटहरीमा तीन जना घाइते भएका छन्।
विष्फोटमा परी स्थानीय धनबहादुर श्रेष्ठ, सम्रिना अधिकारी र नाबालक योवन न्यौपाने घाइते भएको इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर चिरन्जिवी दाहालले बताउनुभएको छ।
इटहरी ९ मा रहेको भलाद्मी टोलमा हुने कार्यक्रममा उपप्रधानमन्त्री तथा क्षेत्र नम्बर ३ का उम्मेदवार विजय गच्छदारकी श्रीमती निर्मला गच्छदार, क्षेत्र नम्वर ३ (क) का उम्मेदवार कुमार थापाकी श्रीमती शान्ता थापा, राज्यमन्त्री सुमित्रा विश्वास र पूर्व सांसद कल्पना चौधरीलगायत सहभागी हुने कार्यक्रम थियो।
सो सभामा बिजय गच्छदार आउने अनुमानले बम राखिएको हुनसक्ने आशंका गरिएको छ।
कार्यक्रमस्थल नजिकै बम विष्फोट भएको हो। बमको छर्राले नेपाली काग्रेसका जिल्ला सदस्य दीपक ढकालको आखामा पनि चोट लागेको छ।
केही दिन अघि पनि इटहरी १२ को खनार चौकमा आयोजित बिजय गच्छदार सहभागी कार्यक्रममा बम भेटिएको थियो। त्यतिबेला सुरक्षाकर्मीले बम निस्क्रिय गरेर मानवीय क्षति हुनबाट जोगाएका थिए।
बुधबार मात्रै उदयपुरमा काग्रेस उम्मेदवार नारायण कार्कीलाई लक्षित गरेर थापेको धरापमा परी उम्मेदवार कार्कीसहित ४ जना घाइते हुनुभएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।