विराटनगर– प्रदेश नम्बर १ अन्तर्गत मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रभावित पार्न विभिन्न स्थानमा बम पड्काउने कार्यमा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सक्रिय रहेको छ। यो समूहमा संलग्न भगौडा प्रहरीदेखि केन्द्रीय स्तरका नेतासमेत विस्फोटका घटनामा संलग्न रहेको नेपाल प्रहरीका प्रदेश प्रमुख अतिरिक्त महानिरीक्षक (एआइजी) पशुपति उपाध्यायले नेपाल लाइभलाई जानकारी दिए।
एआइजी उपाध्यायले निर्वाचन बिथोल्न आपराधिक क्रियाकलाप गर्ने १ सय ३७ जनालाई पक्राउ गरिसकेको बताए। उनले ३ सयभन्दा बढी सकेट, ग्रिनेट बम र हातहतियारसमेत बरामद गरिएको जानकारी दिए।
केही दिनयता शंखुवासभा, वाम गठबन्धनको तर्फबाट मोरङ–६ मा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार लालबाबु पण्डितको सभा र पूर्वसञ्चारमन्त्री तथा एमालेका नेता शेरधन राईमाथि लक्षित विस्फोट र पाँचथर घटनामा सक्रिय अभियुक्तलाई प्रहरीले पक्राउ गरिसकेको एआइजी उपाध्यायले जनाए।
उपाध्यायले बुधबार बिहान उदयपुरको उदयपुरगढी गाउँपालिका(६ स्थित दनुवारबेसीमा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार नारायण कार्की चढेको गाडीमा एम्बुस थाप्नेहरुको खोजी कार्य जारी रहेको बताए। उनले घटनामा ७ जना घाइत भएको र काठमाडौंमा उपचारका क्रममा एक महिलाको खुट्टा काट्नुपरेको जानकारी दिए।
निर्वाचनको संवेदनशीलतालाई मध्यनजर राख्दै सुरक्षा निकायले प्रदेश नम्बर १ अन्तर्गत झापाका ४०, इलामका २३, धनकुटाका ७, सुनसरीका ६४, मोरङका ५० र उदयपुरका ७ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखेको छ। प्रदेश नम्बर १ मा मात्र भारतसँग नेपालको खुला सिमाना करिब ४ सय किलोमिटर छ।
सुरक्षा निकायले निर्वाचनको दिन मतदान स्थलमा तीन तहको सुरक्षा व्यवस्था अपनाउने र विकट एरियामा आवश्यक परेको खण्डमा तुरुन्त सुरक्षाकर्मी खटाउन हेलिकोप्टरलाई तयारी अवस्थामा राख्ने जानकारी दिएको छ। प्रदेश नम्बर १ मा मात्र म्यादी र प्रहरी गरी करिब २० हजार सुरक्षाकर्मी खटिँदैछन्।
‘निर्वाचनमा जनस्तरको सहभागिता देखेर हामी पनि उत्साही भएका छौं। आपराधिक गतिविधिमा लागेका केही व्यक्ति निर्वाचन बिथोल्न लागेका छन्। तर, त्यसलाई जनताले अस्वीकार गरिसकेका छन्,’ एआइजी उपाध्यायले भने, ‘अहिले राजनीतिक दलका मानिसलाई हामीले सुरक्षाको संवेदनशीलतालाई बुझेर सुरक्षाकर्मीलाई अग्रीम जानकारी नदिई राजनीतिक गतिविधि नगर्न अनुरोध गरिरहेका छौं। उहाँहरूले पनि सम्पर्क गरिरहनु भएको छ।’
स्थानीय निकायको निर्वाचनभन्दा अहिले धेरै आपराधिक घटना गराउन खोजिएको जनाउँदै उनले भने, ‘स्थानीय निकायको निर्वाचनमा सिलिन्डर र कुकर बम अधिक प्रयोग भएको देखिन्थ्यो। अहिले सुतली बम, सकेट बम पड्काइरहेका छन्। हामीले सुरक्षा व्यवस्था निकै चनाखो र कडा बनाएका छौं। हामी अहिले चारवटै निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग) एकदमै नजिकको समन्वय बनाएर काम गरिरहेका छौं।’
भारततर्फ लामो खुला सिमाना भएकाले भारतीय सुरक्षाकर्मीसँग पनि समन्वय गरेर काम गरिरहेको उनले जानकारी दिए। ‘भारतमा रहेर आपराधिक गतिविधि गर्ने व्यक्तिले निर्वाचनको मौका पारेर लुटपाटका घटना गर्नसक्ने तर्फ पनि हामी उत्तिकै चनाखो छौं,’ उनले भने, ‘हामीले सूचना दिएको केही मिनेटमै भारतीय प्रहरीहरु पनि सक्रिय भएका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।