काठमाडौं– पहिलो चरणको निर्वाचनमा खटिएका एक म्यादी प्रहरीसहित चार कर्मचारीको निधनप्रति निर्वाचन आयोगले शोक व्यक्त गरेको छ।
बुधबार विज्ञप्ति जारी गर्दै आयोगले निर्वाचनमा खटिएका शिक्षक टंक गौतम, कार्यालय सहयोगी लेखनाथ निउरे, म्यादी प्रहरी विनोद चौधरी र मतदाता शिक्षा कार्यकर्ता आनन्द गुरुङको निधनमा गहिरो दुःख व्यक्त गरेको हो।
आयोगका अनुसार, रामेछापको उमाकुण्डमा खटिएका शिक्षक टंक गौतम निर्वाचनपछि घर फर्कने क्रममा बाटोमा मृत अवस्थामा फेला परेका थिए। त्यस्तै, लेखनाथ निउरेको मुस्ताङको लोमान्थाङमा निर्वाचनमा खटिएर मतपेटिका संकलन गरी जोमसोम आउने क्रममा बिरामी भएर निधन भएको थियो।
दाङको तुलसीपुरमा अज्ञात समूहले गराएको विस्फोटमा घाइते भएका २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको उपचारका क्रममा निधन भएको थियो।
संखुवासभाको मादीमा मतदान स्थलबाट फर्कने क्रममा अचानक लडेर बेहोश भएका मतदाता शिक्षा कार्यकर्ता आनन्द गुरुङको निधन भएको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।