काठमाडौं– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेसले धनुषा क्षेत्र नम्बर ३ बाट विमलेन्द्र निधिले उम्मेद्वारी फिर्ता लिए मात्र आफूहरु सहितको लोकतान्त्रिक गठबन्धन सम्भव रहेको बताएका छन्।
सप्तरीको राजविराजमा सञ्चारकर्मीसँग यादवले दोस्रो चरणको चुनावी तालमेलका लागि धनुषा–३ मा कांग्रेसले उम्मेदवारी फिर्ता लिनुपर्ने बताए। सो क्षेत्रबाट राजपाका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो प्रतिनिधिसभा सदस्यको चुनाव लड्दै छन्।
यादवले कांग्रेसकै घमण्डका कारण लोकतान्त्रिक गठबन्धन बन्न नसकेको उल्लेख गर्दै अझै पनि गठबन्धनका लागि प्रयास गरिरहेको जानकारी दिए।
सप्तरी–२ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका यादवले भने, ‘यदि, धनुषा–३ मा कांग्रेसले उम्मेदवारी फिर्ता लिन्छ भने अझै पनि लोकतान्त्रिक गठबन्धन सम्भव छ। धनुषा–३ मा राजपा नेता राजेन्द्र महतोजी हुनुहुन्छ, हामी कुनै पनि हालतमा सम्झौता गर्न सक्दैनौं। यदि कांग्रेसले निधिको उम्मेदवारी फिर्ता लिन्छ भने गठबन्धनको सम्भावना सकिएको छैन।’
संघीय समाजवादी फोरम र राजपा नेपालले धनुषा–३ का उम्मेदवार राजेन्द्र महतोको पक्षमा मतदानका लागि आह्वान गर्न मंसिर १६ मा जनकपुरमा चुनावी सभा गर्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।