काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तमसुक गरेर सरकार फेर्ने परिपाटीको अन्त्य हुन लागेको बताएका छन्।
बुधबार भरतपुर-२४ को नयाँबस्तीमा आयोजित चुनावीसभामा उनले वाम गठबन्धनबाट माओवादी र एमाले नेता कार्यकर्ता मात्र खुसी नभएर राजनीतिक स्थिरता चाहने सबै शक्ति खुसी भएको बताए।
‘वाम गठबन्धनबाट देशमा राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धि चाहने कांग्रेसभित्रका देशभक्त र लोकतन्त्रका पक्षधर शक्तिहरु पनि खुसी छन्। नेपालमा राजनीतिक अस्थिरताको युग अन्त्य हुँदैछ,' उनले भने।
अबको युग विकासको युग भएको उल्लेख गर्दै उनले आर्थिक समृद्धिको लागि वाम गठबन्धनको एकताले समृद्धिको ढोका खोल्ने दाबी गरे। ‘पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीन जिल्लाहरुमा वाम गठबन्धनको दुई तिहाइभन्दा बढी मत आएको सजिलै अनुमान गर्न सकिन्छ,' उनले भने, 'अब देशमा वामपन्थीहरुको दुई तिहाइ मतद्वारा स्थिर सरकार र विकासले गति लिनेछ।’
पहिलो पटक चितवन-३ बाट निर्वाचन लड्न लागेका प्रचण्ड अहिले जिल्लाका विभिन्न चुनावीसभामा व्यस्त छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।