बुटवल- स्वास्थ्यमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता दीपक बोहरामाथि निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी परेको छ।
आफ्नो निर्वाचन क्षेत्रमा बिजुलीका पोल तथा पैसा बाँडेको भन्दै उनको उम्मेदवारी खारेजीको मागसहित निर्वाचन कार्यालयमा उजुरी परेको हो। रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका बोहोराले मतादातालाई प्रभावित गर्ने गरी शुद्धोधन गाउँपालिका–४ को जुगडीहवा र वडा नम्बर ५ को शीतलपाटीको थारु गाउँमा गत शनिबार राति २२ थान बिजुलीको पोल बाँडेको आरोप लगाइएको छ।
शुद्धोधन गाउँपालिका–४ का वडाध्यक्ष राजेन्द्र कँडेल, वडा नम्बर ३ का वडाध्यक्ष हेमबहादुर खड्का र वडा नम्बर ५ का वडाध्यक्ष पुन्यराम गौतम, वडा सदस्य हेमन्त थापा, भुनेश्वर थारु लगायत एक सयभन्दा बढी सर्वसाधारणले हस्ताक्षर गरी आयोगमा उजुरी दिएका थिए।
यसैबीच निर्वाचन आचारसंहिता अनुमगन समिति रुपन्देहीका सदस्य खिमप्रसाद अर्यालको टोली सोही ठाउँमा पुगी स्थलगत अध्ययन गरेको छ।
टोलीको अनुगमनपछि ती पोल शुद्धोधन गाउँपालिकाको मातहतमा राखिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्याप्रसाद भण्डारीले बताए। निर्वाचनपश्चात् छलफल गरी आवश्यक ठाउँमा गाउँपालिकाले ती पोल वितरण गर्ने भएको छ।
मन्त्री बोहराले आफूले आचारसंहिता विपरीत हुने गरी कुनै काम नगरेको दाबी गर्दै विद्युत् पोल वितरण गरेको आरोपको खण्डन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।