सुरुङ्गा- झापामा एकपछि अर्को गर्दै उम्मेदवार लक्षित आक्रमण बढ्न थालेका छन्।
मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारलाई लक्षित गरी बम विस्फोटका घटना हुन थालेका हुन्।
भद्रपुरस्थित संघीय एकाइ प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले मेचीबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न ५७ जनालाई पक्राउ गरेको बताए।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा उम्मेदवार कृष्णप्रसाद सिटौलाको चन्द्रगढीस्थित घरमा केही दिनअघि बम विस्फोट भएको थियो। सुरक्षाको दृष्टिकोणले सुरक्षित मानिएको सदरमुकाम चन्द्रगढीमै सिटौला निवास रहेको छ। सिटौला घरको सुरक्षार्थ ५ जना प्रहरी परिचालन भए पनि त्यहाँ बम विस्फोट गराइएको थियो।
त्यस्तै कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको घरमा पनि बम फेला परेको थियो। नेपाली सेनाको बम डिस्पोजल टोलीले मंगलबार नै सो बम निष्क्रिय पार्यो।
यसअघि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा पनि बम विस्फोट गराइएको थियो भने नेपाली कांग्रेस झापा सभापति तथा झापा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उद्धव थापाको घरमा पनि बम विस्फोट गराइएको थियो।
उम्मेदवारलाई लक्षित गर्दै शृंखलाबद्धरुपमा एकपछि अर्को घटना हुन थालेपछि प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले झापाको सुरक्षा व्यवस्थालाई अझ मजबुत राख्न थप सुरक्षा रणनीति अपनाएको बताए।
निर्वाचनलाई लक्षित गर्दै एक सातायता विभिन्न गतिविधिमा संलग्न २० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।