काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले यतिबेला राजनीतिक दलका नेता तथा कार्यकर्ता जस्तै कलाकार पनि चुनावी अभियानमा व्यस्त छन्।
मुलुकका विभिन्न निर्वाचन क्षेत्रमा चुनावी माहौल बनाउन कलाकार लागेपछि मतदाताले राजनीतिक भाषण र आश्वासनसहित गीत-संगीतको समेत मज्जा लिन पाएका छन्।
वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनमा आबद्ध उम्मेदवारलाई मत माग्दै कलाकार नै निर्वाचन अभियानमा केन्द्रित भएपछि राजनीतिक सरगर्मीसमेत बढेको हो।
लोक दोहोरी गायक बद्री पंगेनी हालसम्म एक सयभन्दा बढी चुनावी अभियानमा सहभागी भइसकेका छन्। गायक तथा संगीतकार चेतन सापकोटाको व्यवस्तता पनि पंगेनीको भन्दा कम्ता छैन।
हास्य कलाकार मनोज गजुरेललाई पनि आजकल फुर्सद छैन। देशव्यापी रुपमा चुनावी अभियानमा संलग्न हुनुहुन्छ। यस्तै गायक नवीन खड्का र गायिका टीका पुन पनि चुनावी अभियानमा छन्। गायक झंकार बुढामगर पनि निरन्तर चुनावी अभियानमा छन्। अझै २० भन्दा बढी चुनावी अभियानको निम्तो आएको उनको भनाइ छ।
लोकदोहोरी गायिका राधिका हमाल गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार नै थिइन्। उनको व्यस्तता पनि लोभलाग्दो नै छ। लोकगायक विमलराज क्षेत्री लोकतान्त्रिक गठबन्धनलाई मत माग्दै चुनावी अभियानमा छन्।
लोकगायक विष्णु क्षेत्री पहिलो चरणको निर्वाचनमा बाग्लुङमा मतदान सकेपछि दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा व्यस्त छन्। संविधान कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको निर्वाचनमा हामी कलाकार हौं भनेर बस्ने अवस्था भएन, त्यही भएर वाम गठबन्धनका लागि मतदान गर्न आग्रह गर्दै चुनावी अभियानमा लागेको बताउने गायक पंगेनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार रहेको चितवन क्षेत्र नम्बर ३ मा मत माग्न व्यस्त छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी दुई दर्जनभन्दा बढी चुनावीसभामा गीत गाएका पंगेनीले एमाले महासचिव ईश्वर पोखरेल, स्वतन्त्र उम्मेदवारी दिनुभएका हृदयेश त्रिपाठीदेखि माओवादी केन्द्रका उम्मेदवार कृष्णबहादुर महराको निर्वाचन क्षेत्रमा समेत आफ्नो प्रस्तुति दिएका छन्।
पंगेनी भन्छन् 'राजनीतिक स्थिरता मुलुकका लागि आवश्यक छ, हामी कलाकारलाई पनि त्यसले फाइदा गर्छ भन्ने लक्ष्यका साथ म चुनावी अभियानमा छु।'
हास्य कलाकार गजुरेल पनि निरन्तर चुनावी अभियानमा छन्। चितवनमा रहेका गजुरेलले टेलिफोनमा भने 'म त गजुरियल अभियानमा छु, जनतामाझ वाम गठबन्धनलाई साथ दिन आग्रह गरिरहेको छु।'
यस्तै, गायक तथा संगीतकार सापकोटाले पनि हालसम्म एक सयभन्दा बढी चुनावी अभियानमा सहभागी भएको बताउनुभयो ।
‘उठ युवा हो, जाग युवा हो भन्ने गीत बढी मतदाताले मन पराएका छन्’ संगीतकार सापकोटाले भन्नुभयो। गायिका हमालले रोल्पाको चुनावी अभियानपछि दाङ, नेपालगञ्ज, पाल्पा, बुटवललगायतका स्थानका चुनावी अभियानमा सहभागी हुने कार्यक्रम तय भएको जानकारी दिए। लोकतान्त्रिक गठबन्धन विशेष गरी कांग्रेसलाई मत माग्दै हिँडेको उनको भनाइ छ।
गायक खड्का पनि एक सयभन्दा बढी चुनावी अभियानमा निरन्तर सहभागी छन्। खड्काले गाएको मध्यपश्चिमको लोकलयमा आधारित ‘सिंगारु टप्पा’ नै गाउँदै हिँडेका छन्।
'हामी कलाकार मात्रै होइनौं, राजनीति पनि राम्ररी बुझ्छौं। त्यही भएर निरन्तर चुनावी अभियानमा लागेका हौं' उनले भने।
लोक गायक प्रकाश कटुवाललाई पनि चुनावी अभियानले राम्रैसँग तानेको छ।
‘कांग्रेसलाई विजयी गराऔं’ भन्दै दर्जनौं स्थानमा मत माग्दै हिँडेका छन्। यस्तै लोकगायक राजु ढकालले पनि कांग्रेसलाई मत दिन आग्रह गरेका चुनावी गीत गाए।
अर्का लोकगायक विमलराज क्षेत्रीलाई पनि आजकल चुनावले राम्रैसँग तानेको छ। क्षेत्री पनि कांग्रेसको दर्जनौं चुनावी अभियानमा सहभागी भए। उनले ‘भोट हालौं रुखमा’ भन्ने गीत तयार पारेका छन्।
यस्तै लोकगायक पुरुषोत्तम न्यौपानेले पनि चुनावी गीतमार्फत वाम गठबन्धनलाई मत मागिरहेका छन्। उनको ‘भोट के मा सूर्यमा’ भन्ने चुनावी गीत चर्चामा छ।
यस्तै, जनसांस्कृतिक महासंघ कास्की शाखाले पनि चुनावी गीत तयार पारेको छ। मौलक लोकलयमा तयार पारिएका चुनावी गीत नै बढ्ता चर्चित देखिएको स्वयं कलाकारकै भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।