रत्ननगर- चितवनमा निर्वाचन केन्द्रित सुरक्षा योजना लागू भएपछि प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ।
गुन्डागर्दी र निर्वाचन विरोधी गतिविधि गर्नेहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीका २० जना र गुन्डागर्दीमा संलग्न १९ जना छन्।
जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको विशेष सुरक्षा योजनाका कारण जिल्लामा सुरक्षाको अवस्था मजबुत रहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताए।
चितवनमा पछिल्लो समय कालिका नगरपालिका, खैरहनी र वीरेन्द्रनगरको खाली जमिनमा तीन वटा सिलिन्डर विस्फोट गराइएको छ। सो कार्यमा संलग्न केहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जिल्ला सुरक्षा समितिले जिल्लाका ५२ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेर सोही अनुसारको सुरक्षा व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए।
केन्द्रीय सुरक्षा योजनाको आधारमा जिल्ला सुरक्षा समितिले निर्वाचन पूर्व, निर्वाचनका बेला र निर्वाचन पश्चातका फरक-फरक सुरक्षा योजना बनाएको छ।
चितवनमा एक हजार ७१० म्यादी प्रहरी र तीन हजार २९५ जनपद प्रहरी परिचालन गरिएको छ भने आवश्यकताअनुसार नेपाली सेना र सशस्त्र प्रहरी समेत परिचालन हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।