काठमाडौं– काठमाडौं विश्वविद्यालयका सात स्कुलमध्येको स्कुल अफ आर्ट्सले कोर्सहरुबारे बुझ्न सघाउ पुर्याउने उद्देश्यले ‘केयु स्कुल अफ आर्ट्स मिट एन्ड ग्रिट– २०१७’ आयोजना गर्ने भएको छ।
बिहीबार भएको पत्रकार सम्मेलनमा मेला ललितपुरस्थित स्कुल कम्प्लेक्स हात्तीवनमा आइतबार हुने जानकारी दिइयो । मेलामा स्कुल अफ आर्ट्समा अध्ययन गर्न चाहनेहरुले स्कुलमा उपलब्ध कार्यक्रम र व्यावसायिक बजारमा तिनको महत्वबारे जानकारी लिन सक्ने जनाइएको छ।
मेलामा विद्यार्थीले अध्यापकहरुसँग समेत छलफल र सल्लाह गर्ने अवसर पाउनेछन् । मेलाबाट विद्यार्थीले उच्च शिक्षाबारे राम्रो निर्णय लिन सघाउने अपेक्षा गरिएको छ ।
स्कुलका डिन डा सागरराज शर्माले स्कुलका कोर्सहरुबारे धेरैभन्दा धेरैले थाहा पाऊन् भन्ने उद्देश्यले मेला आयोजना गरिएको बताए।
सन् १९९६ मा संगीत विभागबाट स्थापना भएको केयु स्कुल अफ आर्ट्सले अहिले चारवर्षे स्नातकमा अर्थशास्त्र, मिडिया अध्ययन, कम्युनिटी डेभलपमेन्ट, ललितकला र संगीत जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।