सुनसरी- सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवारले धरान बजारलाई राजधानी बनाउने मुख्य चुनावी मुद्दा बनाइरहेका छन् तर यहाँका जनताले भने खानेपानीको माग गरेका छन्।
सुनसरी क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार जयकुमार राई र लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार अशोक राईले धरान बजारलाई प्रदेश नम्बर १ को राजधानी बनाउने विषयलाई पहिलो चुनावी मुद्दा बनाउँदै भोट फकाइरहेका छन्। तर जनताले भने राजधानीभन्दा पनि बाटोघाटो, पुल, खानेपानी, रोजगारी, स्वास्थ्य र शिक्षालाई पहिलो मागका रूपमा अघि सारेका छन्। 'अहिले हाम्रो नभई नहुने आवश्यकता भनेको सडक हो, यही सडक राम्रो भएको खण्डमा गाउँको उत्पादन धरान बजारसम्म पुर्याउन सकिन्छ, आम्दानी गर्न सकिन्छ,' धरान उपमहानगरपालिका–४ शिवजट्टाका प्रेमलाल राईले भने।
उनी जस्तै धरान उपमहानगरपालिकाका अधिकांश जनता आफूहरुलाई राजधानी होइन पानी र बाटो चाहिएको बताउँदै आएका छन्।
वाम गठबन्धनका उम्मेदवार राईले आफूले जितेको खण्डमा मात्र धरान १ नम्बर प्रदेशको राजधानी बन्न सक्ने दाबी गरे। लोकतान्त्रिकका साझा उम्मेदवार अशोक राईले पनि ऐतिहासिक रूपले नै धरान राजधानी रहेको हुँदा अब संघीयतामा पनि १ नम्बर प्रदेशको राजधानी बनाउने दाबी गर्दै आएका छन्।
सुनसरीमा आगामी मंसिर २१ गते चुनाव हुँदैछ।
धरान उपमहानगरपालिका सहित सुनसरीको निर्वाचन क्षेत्र नं १ लाई नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) को पकेटका रूपमा हेरिन्छ। यो क्षेत्रमा पहिलो संविधानसभा २०६४ र त्यसपछिका सबै निर्वाचनमा माओवादी र एमाले नै विजयी हुँदै आएका छन्।
यो क्षेत्रमा अन्य क्षेत्रीय पार्टीबाट पनि उम्मेदवारी छ। २०७० मा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादीले तेस्रो मत पाएको थियो भने तत्कालीन संघीय समाजवादी पार्टीले ३ हजार ५ सयको हाराहरीमा मात्र मत पाएको थियो।
गएको स्थानीय तह निर्वाचनमा हालको निर्वाचन क्षेत्र १ मा एमालेको ३० हजार, कांग्रेसको २४ हजार, माओवादी केन्द्रको १५ हजार र समाजवादी फोरमको पाँच हजार हाराहारीमा मत पाएको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।