एजेन्सी– बलिउडमा बायोपिक फिल्मको लहर चलेको छ। नेतादेखि खेलाडी, कलाकार र अन्य हस्तीको जीवनलाई पर्दामा उतार्ने होड नै चलेको छ यतिखेर।
यही क्रममा बलात्कारको आरोपमा दोषी ठहर भएका भारतीय 'धर्मगुरु' आशाराम बापुको जीवनमा आधारित फिल्म बनाउने तयारी भइरहेको छ।
समाचारअनुसार 'ग्याङ अफ बासेपुर', 'तनु वेड्स मनु', 'साहिद और द एक्सिडेन्टल प्राइम मिनिस्टर' जस्ता फिल्म निर्माण गरिसकेका सुनिल बोहोरा आशाराम बापुको बायोपिक बनाउने तयारीमा जुटेका हुन्।
यो फिल्म पत्रकार उसिनर मजुमदारद्वारा लिखित किताब ‘गड अफ सिनः द कल्ट, द क्लाउट एन्ड डाउनफल अफ आशाराम बापु’ मा आधारित हुनेछ।
उसिनरद्वारा लेखिएको यो किताबमा आशारामको जिन्दगीसँग जोडिएका धेरै कुराहरु उल्लेख छन्। यो फिल्म बनाउनका लागि सुनिलले अनुमति लिइसकेको समाचारमा जनाइएको छ।
फिल्मको बारेमा निर्माता सुनिलले बताएका छन्, ‘जब मैले यो किताब पढें, म पिसी सोलंकीबाट धेरै प्रभावित भएँ। किनकी सोलंकीले आशारामबाट पीडित बालिकाको मुद्दा निःशुल्क लडे र उनलाई न्याय दिलाए। त्यसपछि महसुस भयो– मैले यो फिल्म बनाउनै पर्छ।’
आशाराम बापु बालिका बलात्कारको अभियोगमा दोषी ठहर भएका व्यक्ति हुन्। भारतको जोधपुरस्थित एउटा अदालतले आशारामसहित पाँच जना बलात्कारमा दोषी भएको फैसला गरेको थियो।
उत्तरप्रदेशकी एक किशोरीले आशारामले आफूलाई पाँच वर्षअघि आश्रममा बलात्कार गरेको भन्दै राजस्थानमा मुद्दा हालेकी थिइन्।
सुरतका दुई जना दिदीबहिनीले पनि आफूलाई भगवान भन्ने आशारामले बलात्कार गरेको भन्दै छुट्टाछुट्टै मुद्दा हालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।