डडेल्धुरा- जिल्लामा लैंङ्गिक हिंसासम्बन्धी घटना वृद्धि भइरहेको एक तथ्यांकले देखाएको छ।
आर्थिक वर्ष २०७१/७२ मा लैंगिक हिंसासम्बन्धी ११४, ०७२/७३ मा ११७, ०७३/७४ मा १६३ र चालु आव ०७४/७५ को चौमासिकसम्म ३२ लैंगिक हिंसासम्बन्धी उजुरी दर्ता भएका छन्।
वार्षिक रुपमा ५० देखि ६० उजुरीमाथि मात्र सुनुवाइ हुने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अपराध लुकाउनु कानुनअनुसार अपराध मानिने भए पनि डडेल्धुरामा कतिपय घटना पीडितले नै लुकाउने प्रवृत्तिले कमै उजुरी दर्ता हुने गरेको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए।
महिला हिंसाविरुद्ध काम गर्ने र जनचेतना फैलाउने सरकारी र गैरसरकारी निकायको पहलमा महिला हिंसाका घटना दर्ता बढी भएको र लुकेर बसेका घटना पनि बाहिर आउन थालेको अगुवा महिलाको भनाइ छ। आफ्ना अधिकार र हिंसाबाट मुक्त हुनका लागि न्यायालायसम्म जानुपर्ने कुरा सबै महिलाले थाहा पाएपछि हिसांत्मक गतिविधिका घटना बाहिर आउन थालेको भागेश्वरकी अगुवा महिला अधिकारकर्मी शान्ति जोशीले बताइन्।
पीडितले नै आफूमाथि भएको अन्याय लुकाउनाले पीडक झन् सक्रिय हुने र समाजमा हिंसा बढ्दै जाने प्रहरी उपरीक्षक चक्रराजले जानकारी दिए। बेरोजगारी, अशिक्षा, गरिबी, घरेलु हिंसा, प्रेम विवाहमा तनाव, कुलत र विशेषगरी व्यक्तिमा हीनताबोधका कारण हत्याका घटना बढिरहेको जिल्ला प्रहरी कार्यालयमा रहेको तथ्यांकले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।