काठमाडौं– निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्नहरुलाई प्रहरीले कर्तव्य ज्यानका साथै संगठित अपराध मुद्दा पनि चलाउने भएको छ। संगठित प्रकृतिको अपराध भएकाले प्रहरीले संगठित अपराध ऐनअनुसार मुद्दा अघि बढाएको हो।
हिरासतमा रहेका अभियुक्तहरुउपर संगठित अपराध अन्तर्गत म्याद थपिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रविन्द्र धानुकले बताए। संगठित अपराध ऐनअनुसार अभियुक्तहरुलाई प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। कैद सजाय पनि उनीहरुलाई ५० प्रतिशत धेरै हुन्छ। योजनबद्ध किसिमका र तीन वा त्यसभन्दा धेरै व्यक्ति मिलेर गरेको गम्भीर प्रकृतिको अपराधमा संगठित अपराध ऐन आकर्षित हुन्छ।
गौचन हत्यामा संलग्न ७ जना अभियुक्त हिरासतमा छन्। गोली हान्नेमध्ये एक राजीव स्याङ्तान, सहयोग गर्ने पर्साका शिवजी महतो, भारतीय नागरिक मुकेशकुमार पाण्डे, पर्साका सन्तोष गुरुङ र काठमाडौं नागार्जुनका प्रकाश बुढाथोकीलाई कात्तिक २१ मा प्रहरीले सार्वजनिक गरेको थियो। सोही घटनामा सहयोग गर्ने बसन्त थेबे र धनराज योङ्हाङ भने मंसिर १ मा पक्राउ परेका थिए।
घटनाका योजनाकार समूहका बस्नेतसहित मनोज पुन, लोप्साङ लामा, बोका भन्ने गंगा लिम्बू, श्यामबहादुर गम्बे, कालेदाइ भन्ने अम्बरबहादुर रानामगर, रोशन बुढाथोकी र अजय थापा लगायतका फरार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।