मलेखु, धादिङ- दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं ५ स्थित गजुरी पीडा मावि मतदान केन्द्र नजिकै फेला परेको सकेट बम निष्क्रिय पारिएको छ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले राखेको बम नेपाली सेनाले निष्क्रिय पारेको हो।
मतदान केन्द्र नजिकै ३ सय मिटर पर बाटोमा बिहान बम भेटिएपछि प्रहरी र सेनालाई खबर गरिएको थियो। नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।
बम निष्क्रिय पारेपछि सो क्षेत्रमा सेना परिचालन गरिएको छ।
मतदातालाई निर्धक्क मतदान गर्न आउन प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीले आग्रह गरेका छन्।
निर्वाचनको तयारी सकिएकाले मतदानपछि १२ मतदानस्थलका १७ मतदान केन्द्रका ५१ वटा मतपेटिका हेलिकप्टरबाट ढुवानी व्यवस्था मिलाइएको पनि भण्डारीले जानकारी दिए।
यसैबीच निर्वाचन आयोगकी आयुक्त इला शर्माले आज धादिङको अनुगमन गर्दै निर्वाचन तयारीबारे जानकारी लिएकी छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।