रौतहट– गएको वर्षायाममा रौतहटको चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुरको दलित बस्ती बाढीले उजाड बनेको थियो। हास्य कलाकार दम्पती सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को सहयोगी हात पुगेपछि अहिले त्यो ठाउँको रुप फेरिँदै छ।
धुर्मुस सुन्तली फाउन्डेसनले सन्तपुरका दलितहरुका लागि एकीकृत नुमना बस्ती निर्माण गरिरहेको छ। झुपडी घरको ठाउँमा पक्की घर बनिरहँदा बस्तीका बासिन्दाहरुले धुर्मुस र सुन्तली भगवान बनेर आइपुगेको भन्दै खुसी साटिरहेका छन्।
सन्तपुरका ४७ परिवारले आउँदो माघ २४ गते पक्की घर उपहार पाउँदै छन्। गत असोज ४ गते धुर्मुसको जन्मदिनको अवसरमा शिलान्यास गरिएको नमुना बस्ती निर्माणको काम अहिले धमाधम भइरहेको छ।
बस्तीका शैलेन्द्र माझी मुसहरले बताए, ‘हामी गरिबको घर बनाइदिन धुर्मुस सुन्तली भगवानको रुपमा प्रकट हुनुभएको छ।’
सो एकिकृत बस्ती करिब ६ करोडको लागतमा निर्माण भइरहेको छ। भूकम्पप्रतिरोधी र सरकारको मापदण्ड अनुसार बनिरहेको बस्तीमा हरेक परिवारले चार वटा कोठा भएको दुईतले पक्की घर र शौचालय पाउनेछन्। यस्तै, बस्तीमा सार्वजनिक धारा, बगैंचा, एउटा मन्दिर, सामुदायिक भवन र पूरै बस्ती अवलोकन गर्न सकिने भ्यु टावरको समेतको निर्माण भइरहेको फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए।
कलाकार कट्टेल बस्ती निर्माणका लागि रकम जुटाउन यतिबेला साउदी अरबमा छन्।
‘चाडबाड तथा चुनावका कारण आर्थिक संकलनमा केही समस्या भए पनि नेपालीहरुको माया र सद्भावका कारण बस्ती निमार्ण भइरहेको छ’, साउदीबाटै उनले भने।
बस्ती निर्माणका लागि साउदीमा रहेका नेपाली दाजुभाइहरुबाट ठूलो सहयोग र सद्भाव मिलेको समेत उनले बताए।
बस्ती निर्माणका लागि अहिले करिब तीन सय जना कामदार खटिएका छन्। बस्ती निर्माणको ४० प्रतिशत काम सकिएको र त्यसमध्ये २५ वटा घरको एकतलासम्म पर्खाल उठिसकेको व्यवस्थापक अर्जुन न्यौपानेले जानकारी दिए।
उनले भने ‘अघिल्ला परियोजनाहरुमा जस्तै सबैको साथ र सद्भाव रहेकाले निर्धारित समयमैै बस्ती हस्तान्तरण गर्ने योजना छ।’
धुर्मुस सुन्तली फाउन्डेसनले यसअघि काभ्रे, सिन्धुपाल्चोक र बर्दिबासमा एकीकृत नमुना बस्ती बनाएर हस्तान्तरण गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।