कैलाली– धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले पूर्ण खोप घोषणा कार्यक्रममा आरजु राणा देउवाका लागि भोट मागेपछि स्थानीय आक्रोशित बनेका छन्।
शुक्रबार धनगढी उपमहानगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा कार्यक्रममा नगरप्रमुख वडले कैलाली क्षेत्र नम्बर ५ बाट प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं नेपाली कांग्रेस नेतृ आरजु राणाका पक्षमा भोट मागेका हुन्।
नगरप्रमुखका हैसियतले अध्यक्षता ग्रहण गरेको कार्यक्रममा उनले आरजु महिला उम्मेदवार भएकाले जिताउनुपर्ने भन्दै सहभागी महिला स्वयंसेविका, आमासमूहका सदस्यसँग भोट मागेका थिए। नगरप्रमुख भोट माग्न थालेपछि कार्यक्रममा हो–हल्ला भएको थियो।
‘नगरप्रमुखले आम सर्वसाधारणका समस्या, गुनासालाई सम्बोधन गर्दै मन्तव्य राख्नुहुन्छ भन्ने लागेको थियो। उहाँ त सहभागीहरुसँग भोट पो माग्न थाल्नुभयो’, कार्यक्रममा सहभागी एक महिला स्वयंसेविकाले भनिन्।
कार्यक्रम सुरु भएको १५ मिनेटमै वड भोट मागेर बाहिरिएका थिए। आफ्नै अध्यक्षतामा भइरहेको कार्यक्रम छाडेर गएपछि सहभागीहरुमा थप निराशा छाएको थियो।
‘नगर पूर्ण खोपयुक्त घोषणा भइरहेको छ, तर नगरप्रमुख र उपप्रमुखलाई चुनावी सभामा जान हतार रहेछ’, ती महिला स्वयंसेविकाले भनिन्।
धनगढी उपमहानगरपालिकाभित्र आयोजना हुने संघ/संस्थाका साधारणसभा, अन्तर्क्रिया कार्यक्रम लगायतमा पनि नगप्रमुख वड नेतृ राणाका लागि मागिरहेका हुन्छन्। उनी नेपाली कांग्रेसका तर्फबाट मेयर निर्वाचित भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।