पाहुनाकोठा, चिया पसल वा चौतारीबाट
तीखो धार बनाएर निरन्तर
अठार सय चौबीस दिनसम्म
उसैलाई सराप्छन् हातहरू
उसैलाई गाली गर्छन् ओठहरू
जो आँखैअगाडि छरेर झुटको बिउ
गर्छ धोकाको उन्नत खेती
र फलाउँछ लहलह करेसाबारीमा
कमिसनका झरिला बालाहरू ।
आफ्नो सुकिलो निधारबाट
आफ्नै हातले उखेलेर भाग्यको जरा
उसैको निधारमा रोपेको भोलिपल्टदेखि
बदलामा लगातार सराप्दै बितेका छन्
‘अ’ नै ‘अ’ ले ढाकेका अँध्यारा दिनहरू
जस्तो कि अन्याय, अतिचार, अनिकाल
वा भनौ अव्यवस्था,
तैपनि
सराप्नु र फेरि सराप्नु बाहेक
देखेनन् हातहरूले केही विकल्प
हुनसक्छ हातमा थिएनन् आँखा ।


सराप्दा यसरी निरन्तर
त्यो एकदिन -
छातीमा जम्दछ खै श्रापको कुन सागर
ग्लानिको कुन चिस्यानले गाल्दछ आफैंलाई
र प्रायश्चित्तमा कुन मेघनादपछि
कालो बादलले ढाक्छ आँखाहरू
हूरीले उडाउँछ विवेकको छानो
र पखाल्छन् बाछिटाहरूले रिसको मयल ?
जुन दिन -
आउँछ हातमा रंगीन मतपत्र
यसरी उठाउँछन् स्वस्तिक छाप
मानौं कि बन्धक थिए औंलाहरू
थिएन दायाँबायाँ अरू बाटो
र सजिलै दिन्छन गह्रुंगो आशीर्वाद
गन्हाएको उही पुरानो थाप्लोमाथि
जो श्रापित छ आफैंबाट अविरल
त्यस दिन बाहेक थुप्रै पाँच वर्षहरूमा
र, फेरि तयार हुन्छन् थेत्तरा हातहरू
भोलिदेखि उसैलाई सराप्न
अर्को अठार सय चौबीस दिनसम्म ।
आउन त फेरि आउँदैछ घुमिफिरी
नाच्दैनाच्दै त्यही हातमा
आफ्नै भाग्यरेखा कोरिएको मतपत्र
त्यस दिन के गर्छन् हातहरू ?
हेर्न बाँकी छ
तर साथी !
हातमा परेको त्यो रंगीन कागज
मतपत्र होइन मनपत्र हो
औंलाले होइन त्यसमा
मस्तिष्कले लगाउनुपर्छ छाप
होइन भने, याद रहोस् !
सराप्नु ‘उसलाई’ यसरी
खासमा आफ्नै हातलाई सराप्नु हो
आफ्नै टाउकोलाई धिक्कार्नु हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।