बैतडी- पहिलो चरणअन्तर्गत यही मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बैतडीमा ३ हजार ५ सय जनशक्ति परिचालन गरिने भएको छ।
प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीका अनुसार २ हजार ६३ सुरक्षाकर्मी, एक हजार ४४९ निजामती कर्मचारी र स्वयंसेवक गरी ३ हजार ५१२ जना जनशक्ति परिचालन गरिन लागिएको हो। निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीका ७३५, सशस्त्र प्रहरीका १८८, नेपाली सेनाका ३१० र म्यादी प्रहरीका ८१५ र अनुसन्धान प्रहरीका १५ गरी कूल २ हजार ६३ जना सुरक्षाकर्मी खटिने भएका छन्।
बैतडीमा रहेका १८२ मतदान केन्द्रमध्ये दुर्गम तथा टाढाका केन्द्रमा मतदान अधिकृत खटाइसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। भौगोलिक रुपमा टाढा रहेका जिल्लाका सिगास, शिवनाथ, पञ्चेश्वर गाँउपालिका र पुर्र्चौडी नगरपालिकामा मतदान सामग्रीसहित कर्मचारी पठाइएको हो।
प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा एक लाख ३२ हजार ३१९ मतदाता रहेका छन्।
बैतडीमा थप ७ हजार नयाँ मतदाताले मतदान गर्न पाउने भएका छन्। गत असारमा सम्पन्न स्थानीय तह निर्वाचनमा एक लाख २५ हजार २८३ मतदाता रहेकामा निर्वाचन आयोगले गत साउन १ देखि भदौ ३ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन गरेसँगै ७ हजार ३६ मतदाता थपिएका हुन्। यसमा ६४ हजार ४७१ पुरुष, ६७ हजार ८४६ महिला र २ जना तेस्रोलिंगी मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।