चितवन- दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट रातको समयमा पनि खुला गरिने भएको छ।
चाडबाडमा राजधानी काठमाडौंबाट बाहिरिँदा अधिकांशले यही बाटो प्रयोग गर्ने भएकाले सडक बिग्रेको ठाउँमा मर्मत गरी २४सै घन्टा खुलाउन लागिएको हो।
स्थानीय प्रशासन, प्रहरी, निर्माण कम्पनी र सरोकारवालाहरुको बैठकले चाडपर्वको बेला यात्रुको सुविधाका लागि सडक खुला गर्ने निर्णय गरेको हो । पहिरोको जोखिम बढेपछि रातिको समयमा सवारी साधन रोकिएको सडक मौसममा सुधार आएसँगै दशैंको लागि राति पनि खुला गरिने बैठकको निर्णय छ।
गत असार २५ गतेबाट सो सडक रातको समयमा बन्द गर्ने गरिएको थियो । मुग्लिनबाट आउने सवारीलाई साँझ ७ देखि बिहान ५ बजेसम्म र नारायणगढतर्फबाट जाने सवारीलाई दासढुंगामा साँझ ६ देखि बिहान ४ बजेसम्म रोकिँदै आएको छ।
आगामी पुससम्म सम्पन्न गर्नुपर्ने उक्त सडकखण्डको हालसम्म ५४ प्रतिशत मात्रै काम भएको छ ।
चाडबाडको समयमा मालवाहक सवारी साधनलाई रोकेर यात्रुवाहक सवारी साधनलाई सडक पार गराउने समेत बैठकले निर्णय गरेको छ । यस्तै, आवागमनलाई असर नपर्ने गरी कालोपत्रे गर्ने, खाल्टाखुल्टी तत्काल पुर्ने, रातको समयमा सुरक्षा प्रबन्ध मिलाउने निर्णय पनि पनि गरिएको छ । सडक सुरक्षाका लागि कन्भेन्स लेन्स राख्नुका साथै सडक सुरक्षासम्बन्धी सन्देश प्रचारप्रसार गरिने भएको छ।
राजधानी काठमाडौँबाट दशै, तिहारसहितका चाडपर्वको समयमा ३० लाख यात्रु बाहिरिने अनुमान छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।