नुवाकोट- नुवाकोटका भूकम्प प्रभावितका लागि ल्याइएको खाद्यान्न तथा बन्दोबस्तीका सामग्री काम नलाग्ने भएको छ।
जिल्लामा ल्याएर लामो समयसम्म गोदाममा राख्दा खाद्यसामग्री कुहिएका छन् भने बन्दोबस्तीका सामग्री प्रयोग गर्न नमिल्ने भएको छ ।
नुवाकोट उद्योग वाणिज्य संघको इलम प्रशिक्षण केन्द्रस्थित चिसो भुइँमा भण्डारण गरिएको चामल, दाल, बिस्कुट लगायतका खाद्यान्न म्याद गुज्रिएर खान अयोग्य भएर गन्हाउन थालेको उद्योग वाणिज्य सङ्घका सदस्य सवीन राजभण्डारीले बताउनुभयो ।
'गोदाममा राखेको त्रिपाल, टेन्ट, कम्बल लगायतका बन्दोबस्तीका सामग्री मुसाले खानेदेखि चिसोले मक्किएर काम नलाग्ने भएको छ', राजभण्डारीले बताए ।
भण्डारणमा रहेका सामग्रीको व्यवस्थापन गर्न प्रशासनलाई आग्रह गरे पनि चासो नदिँदा अहिलेको अवस्था निम्तिएको उनले बताए।
राहत सामग्री प्रयोगविहीन अवस्थामा पुगेको जानकारी पाए पनि जिल्ला दैवी प्रकोप उद्धार समितिले राख्ने ठाउँको अभाव देखाउँदै बेवास्ता गरेको थियो । यी सामान दुई वर्षअघि गोदाममा थन्क्याएदेखि अनुगमन र व्यवस्थापन प्रभावकारी नहुँदा प्रयोगविहीन अवस्थामा पुगेको हो ।
भण्डारणमा रहेका सामग्रीमध्ये खाद्यान्नको म्याद सकिएको र गैरखाद्य छनोट गर्ने तयारीमा लागेको प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले बताए।
भण्डारण गरिएको राहत सामग्री कति मूल्य बराबरको भन्ने यकिन नभए पनि करिब एक करोडको हुनसक्ने अनुमान गरिएको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।