काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङले देशमा अब भ्रष्टाचार हुँदैन भन्नेमा आफू ढुक्क रहेको बताएका छन्। सोमबार सुरु भएको संसदको बजेट अधिवेशनमा उनले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले उठाएका प्रश्नको जवाफ दिँदै उनले प्रधानमन्त्रीले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलको प्रतिबद्धता गरेकाले आफू अब देशमा भ्रष्टाचार नहुनेमा स्पष्ट भएको बताएका हुन्।
'मलाई खुसी लागेको छ। अब यो देशमा भ्रष्टाचार हुँदैमा भन्नेमा म ढुक्क भएँ। प्रधानमन्त्रीले शून्य सहनशीलताको कुरा गर्नुभएको छ। म भ्रष्टाचार देख्न सक्दिनँ, देख्न चाहन्न भन्नुभएको छ। प्रतिपक्षी दलको नेताले पनि रोस्ट्रममा उभिएर त्यही कुरा गर्नुभएको छ। मैले हामी ढुक्क हुने अवस्था देखिरहेको छु', नेम्वाङले भने। उनले जनता अहिले खुसी र उत्साहित भएको दाबी समेत गरेका छन्।
'पहिलोपटक नेपालको इतिहासमा, हामीले धक फुकाएर, शीर ठाडो पारेर भनिरहेका छौं र भन्नसक्नुपर्छ, जनता निराश छैनन्। जनता उत्साहित र खुसी छन्। संघीय संसदमा उपस्थित दलका नेताहरुको प्रयासले हामी यो निष्कर्षमा आइपुगेका हौं', उनले भने। नेम्वाङले सबै आग्रह र पूर्वाग्रहभन्दा अगाडि बढेर समृद्धिका लागि अघि बढ्न आग्रह गरे। उनले आफूहरुले प्रतिपक्षीलाई सम्मान गर्ने बताए।
'प्रतिपक्षी भनेको राज्यको महत्त्वपूर्ण अंग हो। उहाँहरुको सहयोग लिँदै अगाडि बढ्न प्रतिबद्ध छौं', उनले भने। उनले निरंकुशताविरुद्ध एकजुट भएका शक्तिहरु अहिले पनि एक हुनुपर्ने बताए। नेम्वाङले अब राजनीतिक आन्दोलन गर्नुनपर्ने बताए। 'यही संविधानको जगमा उभिएर समृद्ध नेपाल र सुखी नेपालीका लागि अगाडि बढ्न सकिन्छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।