चितवन- स्थानीय तह निर्वाचनका बेला विभिन्न दलका उम्मेदवारले भरतपुर–नारायणगढ क्षेत्रलाई सुन्दर, शान्त, हरियाली र पूर्ण सरसफाइयुक्त बजार बनाउने मुख्य एजेन्डा बनाए। र, भोट फकाए। तर, जनप्रतिनिधि आएको यतिका समय बितिसक्दासमेत न नगर क्षेत्रमा सरसफाइ हुन सक्यो, न त ल्याएको एजेन्डा नै पूरा हुन सके।
विशेषगरी नारायणगढ बजारको सहिदचोकदेखि बेलचोकसम्मको सडक छेउछेउमा ढल भरिएर बजार नै दुर्गन्धित हुँदासमेत जनप्रतिनिधि बेखबर बनेका छन्। फोहोर बढेर सडकमै दुर्गन्ध फैलिए पनि प्रतिनिधि गैरजिम्मेवार बन्ने गरेको आरोप स्थानीयको छ।
'हामीले महिनैपिच्छे महानगरपालिकाले तोकेको सरसफाइ शुल्कसमेत बुझाउँदै आएका छौँ। तर, सरसफाइको कुनै नाम नै लिदैनन्,' संगम मार्गस्थित प्रतीक भेट फर्माका सञ्चालक धनलाल श्रेष्ठले भने, 'शुल्क उठाएर पनि व्यापारीहरू दुर्गन्धले आजित बनेका छन्। उनीहरू दिनभर नाक थुनेर बस्नुपरेको छ।'
दुई चार पैसाको आम्दानीको नाममा आफैं हस्पिटल गएर बस्नुपर्ने स्थिति आएपछि आफूले पसल बन्द गर्नुपरेको उनी बताउँछन्। जबसम्म महानगरपालिकाले सफाइ गर्दैन, तबसम्म पसल नखोल्ने अडान रहेको श्रेष्ठले बाध्यता सुनाए।
उसो, त आफ्नै घरअगाडि ढल भरिएर सास फेर्नै नसक्ने गरी गन्हाउँदा पनि घरधनीहरूले जिम्मेवारी देखाएका छैनन्। घरधनीहरुले साँझ परेपछि शौचालयको फोहोरसमेत मोटर लगाएर त्यही ढलमा मिसाउने गरेका छन्। यस विषयमा वडाध्यक्षलाई जानकारी गराए पनि कुनै सुनुवाइ स्थानीय एक व्यापारीले बताए।
भरतपुर महानगरपालिका वडा नं. ३ का अध्यक्ष चन्द्रमित्र पण्डित भने सरसफाइ गर्नुपर्ने कर्तव्य स्थानीय तहको भएको र त्यहाँका जनप्रतिनिधिहरूले काम गर्नै नपाएको बताउँछन्।
महानगरपालिकाका पदाधिकारी भने नगरपरिषद् गर्नै नभ्याएको भन्दै पन्छिने गरेका छन्। ‘हामीले गर्ने पहिलो काम नै ढल सरसफाइ हो। तर, विभिन्न चाडपर्व र अहिलेको निर्वाचनले गर्दा हामीले परिषद् गर्न सकेका छैनौँ,' महानगरपालिकाकी उपमेयर पार्वती शाहीले भनिन्, 'यस कारण पनि काममा अलि ढिलाइ भइरहेको हो।' (चितवनबाट प्रनिश थापा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।