इटहरी- सिएफएल बल्व खरिदमा रु ६० लाखभन्दा बढी भ्रष्टाचार भएको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इटहरी उपमहानगरपालिकाको कागजात नियन्त्रणमा लिएको छ।
चालु आर्थिक वर्षको साउन १ गतेदेखि कात्तिक ७ गतेसम्म उक्त उपमहानगरपालिकाको जिन्सी शाखाले व्यापारीसँगको मिलेमतोमा कागजात मिलाई भ्रष्टाचार गरेको उजुरी परेको थियो। खरिद गरेको रु ९७ लाखको सिएफएल र त्यसको सेटमा लाखौं भ्रष्टाचार भएको उजुरीपछि अख्तियारले खरिदसम्बन्धी सम्पूर्ण कागजात लिएको हो। सामग्री खरिद कार्यमा बोलपत्र समेत नगरिएको पाइएको छ।
उपमहानगरपालिकामा निर्वाचित पदाधिकारी आउँदाआउँदै भएको सिएफएल बल्व खरिदसम्बन्धी भ्रष्टाचारमा उद्योग वाणिज्य संघका पदाधिकारी, कर्मचारी एवं निर्वाचित पदाधिकारी समेतको संलग्नता देखिएपछि त्यसको छानबिन अघि बढाइएको हो।
उपमहानगरपालिकाभित्र सिएफएल खरिदसँगै फर्निचर खरिद, बालबालिका लक्षित कार्यक्रम र खेलकुदका सामग्री खरिद प्रकरणमा पनि लाखौं रकमको अनियमतिता भएको विषय सार्वजनिक भएका छन्।
यस प्रकरणमा उपमहानगरका निर्वाचित पदाधिकारी, जिन्सी शाखामा कार्यरत कर्मचारी, लेखाका कर्मचारी र उक्त सामग्री खरिदका लागि मूल्यसूची प्रमाणीकरण गरिदिने उद्योग वाणिज्य संघका पदाधिकारी पनि तानिने भएका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।