काठमाडौँ- त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ।
यसैगरी मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव धुमधाका साथ आजै हुँदैछ।
गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनक नन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।
त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे। शिवधनुषलाई भाँचेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो।
रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवताको उपस्थिति रहेको विश्वास गरिन्छ।
सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता शरीर नभए पनि अदृश्यरूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन्।
सो महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ।
पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेषरूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पुर्याइन्छ। त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ।
रङ्गभूमिमा स्वयंवर विधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइएपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ।
रङ्गभूमि मैदानमा वर र कन्या पक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीता रामको प्रतीकात्मक झाँकी र लाखौँ संख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ।
तिरहुतिया गाछीमा मनाइने यो महोत्सव दुई दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ। श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन्। यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ।
जानकी मन्दिरमा घुइँचो
जनकपुरको जानकी मन्दिरमा अहिले श्रद्धालु भक्तजनको ठूलो भिड लागेको छ।
विगतमा आन्दोलन र विशिष्ट अतिथिको आगमनले विवाह महोत्सव प्रभावित भई भक्तजनको सहभागितामा हुन नसेकेकामा आज भने लाखौँ भक्तजनको सहभागिताले महोत्सव आस्थाको केन्द्र बन्न पुगेको छ।
महोत्सवमा देवीदेवताको सहभागिता नभए पनि अदृश्यरूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म मिथिलावासी सहभागी हुने गर्दछन्।
मैथिल संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा राममन्दिर र जानकी मन्दिरबाट राम र सीताको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी रङभूमिमा लगि स्वयम्बर भएपछि जानकी मन्दिरमा ल्याई विवाह गरिन्छ।
सो अवसरमा निस्किने भगवान्को डोला शोभायात्रामा सहभागी हुनेले महोत्सव दैवी विवाह भएको अनुभव गर्दै आफूलाई धन्य सम्झन्छन्। महोत्सवमा बिदाइका क्षण कारुणिक हुन्छ, मिथिलावासीले चेली बिदाइको गीत गाउँदा सबैको आँखा रसाउने गरेकाले प्रतीकात्मक विवाह वास्तविक विवाह झैँ हुने गरेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।