रसुवा- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रसुवाका कार्यवाहक अध्यक्ष पक्राउ परेका छन्।
निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपमा पार्टीका कार्यवाहक अध्यक्ष लेखनाथ लामिछानेलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।
निर्वाचन आउन ४ दिन मात्र बाँकी रहँदा सुरक्षालाई खलल पार्ने किसिमको क्रियाकलाप गरेको भन्दै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
कालिका गाउँपालिका–३ बस्ने लामिछानेलाई कालिकास्थानबाट पक्राउ गरिएको हो।
सोमबार उत्तरगया गाउँपालिका–५ लहरेपौवामा लोकतान्त्रिक गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यको घर नजिकै सुतली बम राख्ने कार्यमा समेत उनको संलग्नता हुन सक्ने प्रहरी आशंका छ।
उनलाई सार्वजनिक मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक सरत कुमार थापा क्षेत्रीले बताए। जिल्लामा निर्वाचन विरोधी गतिविधि हुन नदिनका लागि केहि दिनयता प्रहरीले निगरानी तथा गस्ती बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।