काठमाडौँ- राष्ट्रिय महिला आयोगले हिंसामा परेका बालिका र महिलालाई लक्षित गरी ११४५ नम्बरको हेल्प लाइन नम्बरको पूर्व परीक्षण सुरु गरेको छ।
आयोगले ‘सम्बोधन’ नामक परियोजनामार्फत सञ्चालनमा ल्याएको हेल्पलाइन पूर्व परीक्षण काठमाडौँ, ललितपुर, भक्तपुर र नुवाकोट जिल्लामा सुरु गरेको हो। तर यो नम्बरमा देशको जुनसुकै ठाउँबाट फोन गर्न सकिन्छ।
पूर्वपरीक्षण समयसम्म भने नेपाल टेलिकम र एनसेलबाट मात्र फोन गर्न मिल्नेछ। यही मंसिर २४ गतेबाट भने जुनसुकै नम्बरबाट पनि फोन गर्न मिल्ने आयोगले जनाएको छ।
आयोगका सचिव तुलसीराम सेढाईले उक्त नम्बरको मंगलबार उद्घाटन गर्दै पीडित स्वयम् पीडित, पिडिछका आफ्न्त, साथी, घटनाबारे सुनेका, देखेका, लैगिक हिंसा न्युनीकरण तथा रोकथामसम्बन्धी काम गर्ने संघसंस्थाले फोन गरेर खबर गर्न सक्ने बताए।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिव राधिका अर्यालले सरकारले पहिले पनि विभिन्न हेल्पलाइन सञ्चालनमा ल्याइरहेको बताउँदै आयोगको ११४५ नम्बरको हेल्पलाइनले धेरैभन्दा धेरै पीडित महिलालाई न्यायको पहुँचमा पुर्याउने विश्वास व्यक्त गरिन्।
विश्व बैंकको सहयोगमा आयोगले सञ्चालनमा ल्याएको हेल्पलाइन ११४५ मा जुनसुकै फोनबाट गर्दा पैसा लाग्दैन। नेपालको जुनसुकै ठाँउबाट जुनसुकै समयमा फोन गरे हिंसामा परेका व्यक्तिबारे खबर गरेमा अति प्रभावितका सुरक्षित वास, कानुनी उपचार, परार्मश, मनोसामाजिक परार्मश र आधारभूत स्वास्थ्य सेवासमेत उपलब्ध गराई पीडितलाई न्यायको पहुँचमा पुर्याउने उद्देश्य रहेको परियोजना संयोजक पलिता थापाले बताइन्।
एक महिनासम्म पूर्व परीक्षणका रुपमा सञ्चालन भएको यो सेवा मंसिर २४ गते औपचारिक उद्घाटन गरेर सञ्चालन गरिने आयोगले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।