काठमाडौँ- नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले संगीत तथा नाट्य विधासँग सम्बन्धित स्रष्टा तथा कलाकारलाई परिचयपत्र प्रदान गर्ने भएको छ।
प्रतिष्ठानले आयोजना गरेको पत्रकार सम्मेलनमा ‘स्रष्टा-कलाकार परिचयपत्र वितरणसम्बन्धी कार्यविधि–२०७४’ बमोजिम परिचयपत्र वितरण गर्न लागिएको जानकारी गराइयो।
प्रतिष्ठानले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको स्वीकृतिमा कार्यविधि बनाई परिचयपत्र वितरण गर्न लागेको हो।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका उपकुलपति शम्भूजीत बाँस्कोटाले संगीत तथा नाट्य विधामा अथक साधनामार्फत समाज र राष्ट्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै यी विधासँग सम्बन्धित स्रष्टा, कलाकारलाई सम्मान गर्ने उद्देश्यले परिचयपत्र वितरण गर्न लागिएको जानकारी दिए।
परिचयपत्र सिफारिस समितिका अध्यक्षसमेत रहेका बाँस्कोटाले स्रष्टा-कलाकार परिचयपत्र वितरण गर्नेसम्बन्धी कार्यविधिअनुरुप गीतकार, संगीतकार, लोक भाका संकलक, गायक-गायिका, संगीत संयोजक, वाद्यवादक, नृत्यकार, नाटककार, निर्देशक र रंगकर्मीलाई आफू संलग्न रहेको कुनै एक विधामा प्रतिष्ठित श्रेणी, वरिष्ठ श्रेणी वा साधारण श्रेणीमा परिचयपत्र वितरण गरिने बताए।
स्रष्टा तथा कलाकारको योगदानको कदर, पहिचान र अभिलेख राख्न परिचयपत्रले सहयोग पुग्ने प्रतिष्ठानले जनाएको छ। परिचयपत्र प्राप्त गर्न दरखास्तका साथ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, व्यक्तिगत विवरण, संगीत तथा नाट्य विधाको कुनै एक क्षेत्रमा गरेको योगदानका लागि प्राप्त मान सम्मान, पुरस्कार, आदिको प्रमाणपत्रको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साइजको रंगीन फोटो तीन प्रति, आफू सम्बद्ध संस्थाको सिफारिस पत्र, संम्वन्धित विधामा प्रवेश गरेको मिति खुल्ने प्रमाणपत्र, आफ्ना प्रकाशित कृतिको नाम, लिन चाहेको विधासँग सम्बन्धित कागजात पेश गर्नुपर्नेछ।
प्रतिष्ठानले छिट्टै यससम्बन्धी सूचना जारी गरी दरखास्त आह्वान गर्नेछ। परिचयपत्र वितरणका लागि विभिन्न विधाका सिफारिस उपसमितिहरु समेत गठन भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।