इटहरी- सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा गएराति एम्बुलेन्स र स्कुटर एकापसमा जुधेर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। हलगडास्थित इटहरी-धरान सडकखण्डमा राति पौने ११ बजेतिर सो दुर्घटना भएको हो।
इटहरीबाट उत्तरतिर जाँदै गरेको को२२प ४६७ नंको स्कुटर र धरानबाट इटहरीतिर आउँदै गरेको को१च ७००९ नंको एम्बुलेन्स एकआपसमा जुध्दा स्कुटरमा यात्रारत तीन जना गम्भीर घाइते भएका थिए। उपचारका लागि धरान लैजाने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ।
सवारी दुर्घटनामा परेर मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–२ निवासी ४५ वर्षीय डुकबहादुर कार्की, पाल्पाको भैरवस्थान ऋद्धि गाउँपालिका निवासी ४० वर्षीय निर्माण गौतम र ४१ वर्षीया सरिता काफ्ले रहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।
स्कुटरलाई ठक्कर दिने एम्बुलेन्स र त्यसका चालक सुनिल खड्कालाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ। मृत्यु भएका तीनै जनाको शवपरीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।