रसुवा– मंसिर १० गते पहिलो चरणमा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचन अवधिभर रसुवामा मदिरा बिक्री–वितरणमा रोक लगाइएको छ।
निर्वाचनको समयमा मदिरा सेवनका कारण आपराधिक क्रियाकलाप हुन सक्ने भएकाले निर्वाचन सुरक्षालाई ध्यान दिँदै जिल्लाभर मदिरा बिक्री–वितरणमा रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ।
मदिरा सेवनका कारण सर्वसाधारणको दैनिकी, मतदाता, मतदान सम्बन्धी गतिविधि र निर्वाचन प्रचारप्रसारमा प्रभाव पार्ने भएकाले निर्वाचन अवधिभर मदिरा बेच्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले बताइन्।
विगतका निर्वाचनमा पनि मदिरा सेवनका कारण विभिन्न घटना भएको देखिएकाले जिल्ला सुरक्षा समितिले मदिरा बिक्री–वितरण नगर्न मदिरा व्यवसायीलाई आग्रह गरेको छ।
यसअघि स्थानीय तहको निर्वाचनमा रसुवामा बेलुकीको समयमा मात्र मदिरा बेच्न रोक लगाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।