काठमाडौं- रत्नपार्कमा बायोग्यास उत्पादन गरिने भएको छ। एरोसान र गुठीको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको प्लान्टको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज शिलान्यास गरे।
५औँ विश्व चर्पी दिवसको अवसरमा रत्नपार्कको सार्वजनिक शौचालयबाट बायोग्यास उत्पादन गर्ने योजनासहित प्रमुख शाक्यले आज बायोग्यास प्लान्टको शिलान्यास गरे। सार्वजनिक शौचालयबाट उत्सर्गन हुने फोहोर पानीको उचित व्यवस्थापन र शौचालयलाई स्वच्छ बनाउनका लागि बायोग्यास प्लाट निर्माण गर्न लागिएको शाक्यको भनाइ छ।
प्लान्ट निर्माणका लागि ६ लाख खर्च हुने महानगरले जनाएको छ। रत्नपार्कको बायोग्यास प्लान्टबाट उत्पादन हुने ग्यास खाना पकाउन र बत्ती बाल्न प्रयोग गर्ने बताइएको छ।
सफा सहर बनाउने अभियानअन्तर्गत कामपाले सहरलाई हराभरा बनाउनका लागि दुबो, बिरुवा, फूल रोप्ने कार्य सुरु गरिसकेको र निजी सहकार्यमा तीन सय सार्वजनिक शौचालय निर्माण गर्ने शाक्यले जानकारी दिए।
उक्त प्लान्ट दुई महिनाभित्र बनाइसक्ने र प्लान्टबाट मासिक रुपमा पाँच सिलिन्डरसम्म ग्यास उत्पादन हुने वातावरण व्यवस्थापन विभागका प्रमख रविनमान श्रेष्ठले जानकारी दिए। प्लान्टबाट निस्केको लेदोलाई कम्पोष्ट मल बनाउने योजना रहेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।