सोलुखुम्बु- सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नेचा क्षेत्रमा चितुवाले आतंक मच्चाउँदा स्थानीय त्रसित बनेका छन्।
एक महिना अघिदेखि गाउँमा खसीबाख्रा खान थालेको चितुवाले अहिलेसम्म दुई दर्जनभन्दा बढी खसीबाख्रा मारिसकेको छ। रातको समयमा खसीबाख्रा मारेर खाने क्रम नरोकिएपछि स्थानीयबासी रातको समयमा जागै बस्न बाध्य भएका छन्।
राति आउने चितुवा भगाउँदा पनि अटेर गर्ने भएकाले मानिसलाई नै आक्रमण गर्ने डरले खसीबाख्रा लिएर भाग्दासमेत हेरेर बस्नु परेको स्थानीयको गुनासो छ।
नेचासल्यान गाउँपालिका–३ की रेखा शर्माका अनुसार एक दिन एउटा टोलमा पसेर आतंक मच्चाएपछि चितुवा भोलिपल्ट अर्कै टोलमा पस्ने गरेको छ। चितुवाले मानिसलाई समेत आक्रमण गर्ने डरले साँझपख उनीहरु घरबाहिर निस्कन छाडेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।