कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीको बथानले आतंकित पार्न थालेपछि निकुञ्जका विस्थापित तारापुर शिविरका बासिन्दा अन्न, बालबालिका र ज्येष्ठ नागरिकलाई छिमेकी गाउँमा सार्न बाध्य भएका छन्।
हात्तीको बथानले पटकपटक घर भत्काउने र भण्डारण गरिएको अन्न खाई चौपाया मार्न थालेपछि शिविरका बासिन्दा त्रासमा छन्। दुई दिनअघि मात्रै आएको हात्तीको बथानले शिविरका पाँच वटा घर भत्काएर भण्डारण गरिएको अन्न खाई चौपाया मारेका थिए।
बस्ती नजिकै हात्तीले ठूलो आवाजले कराउन थालेपछि आँगनमा चुट्न राखिएको धान रातारात छिमेकी गाउँमा लगेर राख्नुपरेको स्थानीय जयन्ती विष्टले बताइन्।
हात्तीले छाप्रो भत्काएर अन्न खाएपछि खुला आकासमुनि बिताउँदै आएका रामकुमारी डगौराले हात्तीकै डरले आफूसँग बस्दै आएका बालबालिकालाई छिमेकी बन्साहा गाउँमा पठाएको दुःखेसो पोखिन्।
'राति छाप्रो नजिकै ठूलो आवाजसहित केराका बोट ढल्न थालेपछि श्रीमान्ले हात्तीको बथानले घेरिसक्यो भाग भन्दाभन्दै हात्तीले छाप्रो भत्काउन शुरु गरी हाल्यो', उनले भनिन्, 'आफूसँग सुतेको बच्चालाई काखीमुनि च्यापी भागेर ज्यान जोगायौं।'
हात्ती भगाउन आँगनमा बालेको आगोले छाप्रो जलेपछि बिचल्लीमा परेका रत्नीदेवी डगौराले भनिन्, 'आँगनमा बालिएको आगोले छाप्रोमा राखेको अन्न, लत्ताकपडा त जले, ब्याउने बाख्रा समेत हात्तीले मार्यो।'
आँगनमा चुटनका लागि थुपारेको धानसमेत खाएपछि परिवारलाई कसरी पाल्ने चिन्ता थपिएको उनले बताइन्। रत्नीदेवीको परिवार अहिले छिमेकीको छाप्रोमा बस्दै आएको छ।
शिविरका दिले लुहारको छाप्रोसमेत हात्तीको बथानले भत्काएर भण्डारण गरेको अन्न खाएपछि उनको परिवार दुई दिनदेखि एक छाक खाएर बसेको छ। हात्तीले राखेको अन्न खाएपछि किन्ने क्षमता नहुँदा छिमेकी गाउँ र शिविरका बासिन्दासँग अन्न माग्न थालेको उनले बताए।
हात्ती बस्तीमा आए बालबालिका र ज्येष्ठ नागरिक भाग्न नसक्ने भएकाले सबैलाई अन्नसहित छिमेकी गाउँमा पठाएको जितराम चौधरीले बताए। दैनिक हात्तीको बथान शिविर नजिकैको तारापुर ताल र भतपुरी क्षेत्रमा कराउने गर्दा शिविरमा बस्नेहरु आतंकित हुने गरेका छन्। डरका कारण उनीहरु आगो बालेर जाग्रम बस्दै आएका छन्।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रबाट विस्थापनमा परेका परिवारको पुनःस्थापन नहुँदा ०६२ सालदेखि तारापुर शिविरमा तीन सय विस्थापित परिवार बस्दै आएका छन्। जंगली हात्तीबाट शुक्लाफाँटा नगरपालिकाका ३२ जना पीडित भएका छन् । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।