सप्तरी- राष्ट्रिय विद्यार्थी संघका महासचिव रोशन मिश्रले पत्रकारलाई गाली र धम्की दिएर निकालेको प्रेस विज्ञप्तिको संघका अध्यक्ष किशोर कुमार यादव (केसी)ले खण्डन गरेका छन्।
सोमबार प्रेस विज्ञप्ति जारी गरी महासचिव मिश्रको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पत्रकारलाई गालीगलौज र धम्की दिएर विज्ञप्ति जारी गर्ने संघको निर्णय नभएको यादवले स्पष्ट पारेका छन्।
‘पत्रकारलाई गाली र धम्की दिएर विज्ञप्ति जारी गर्ने संगठनको निर्णय भएको छैन,’यादवले भनेका छन्, 'यसबारे नेतृत्वसँग पनि छलफल भएको छैन।’
विज्ञप्तिमा प्रयोग भएका शब्दहरुप्रति दुःखित भएको जनाउँदै समाचारमा चित्त नबुझे कानुनी प्रक्रिया अनुसार जानुपर्ने कुरामा संघ प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा जनाईएको छ।
व्यक्तिगत रिस साँध्न संगठनलाई नै प्रयोग गर्नु दुःखद भएको जनाउँदै त्यस्तो भए संगठनको लेटरप्याड नै प्रयोग गरी मनमानी गर्नु कुनै पनि संगठनका लागि सह्य नहुने विज्ञप्तिमा उल्लेख छ। ‘हामी यसबारे पनि छलफल गर्नेछौं। आगामी दिनमा आफ्ना व्यक्तिगत स्वार्थका लागि संगठनको लेटर प्याड प्रयोग नगर्न पनि सचेत गराउँदै यदी कसैले पुनः यस किसिमको गतिविधी गरेको पाइएमा सांगठनिक कारबाही समेत गरिने जानकारी गराउँदछौं,’विज्ञप्तिमा भनिएको छ।
संघका महासचिव मिश्रले आइतबार (८ वैशाख) पत्रकार अनन्त अनुरागलाई गालीगलौज गर्दै धम्कीपूर्ण विज्ञप्ति जारी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।