विराटनगर- प्रहरीले ठगी आरोपमा एक भारतीयसहित ६ जनालाई ८६ लाख रकमसहित पक्राउ गरी सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार पत्रकार सम्मेलन गरी मोबाइलमा चिठ्ठा परेको भन्दै विभिन्न जिल्लाका मानिसलाई ठगी गरेको आरोपमा उनीहरुलाई सार्वजनिक गरेको हो। पक्राउ परेकाहरुमा सुनसरी दुहबी नगरपालिका– ६ बस्ने २९ वर्षीय बलराम विश्वास, विराटनगर महानगरपालिका– ७ बस्ने ५५ वर्षीय अनुपचन्द सेठिया, सोही स्थानका ४० वर्षीय ललित सेठिया, सोही स्थानका ३४ वर्षीय विमलकुमार चिरानिया, २७ वर्षीय श्रवणकुमार साह र भारत दरभंगा सुन्दरपर–२ बस्ने ३७ वर्षीय पंकज कर्ण रहेका छन्।
उनीहरुलाई विराटनगर– ७ स्थित सेठियाको कार्यालय कोठाबाट नगद रु ८६ लाख ५९ हजार ३४५, भारतीय रु एक हजार, चाँदीको टुक्रा ४ थान, चाँदीको सिक्का २ थान र मोबाइल ६ थान र अन्य कागजागत सहित बिहीबार पक्राउ गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले उनीहरुले पर्वत देउपुर गाउँपालिका–२ बस्ने ४२ वर्षीया संगीताकुमार गुरुङ र धरान उपमहानगरपालिका– १५ बस्ने ६३ वर्षीय लालबहादुर मगरलाई पाकिस्तानबाट फोन गरी रु ४० लाख चिठ्ठा परेको छ भन्दै रकम असुलेका थिए। उनलाई बुटवल, सुनसरीको इटहरी, मोरङको विराटनगरमा आइएमई गरी ४ लाख ५३ हजार पठाउन लगाइएको थियो। पुनः थप रकम माग्ने क्रममा शंका लागी प्रहरीलाई पीडितले खबर गरेका थिए।
ठगहरुले मोबाइलमा चिठ्ठाको तस्बिर पठाई भारतको मुम्बईको नम्बरमा फोन गर्न लगाएका थिए। पक्राउ परेका ६ जनालाई अदालतबाट ठगी मुद्दामा आवश्यक अनुसन्धानका लागि ७ दिनको म्याद गरिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।