काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारसँग वार्ता गर्नका लागि वरिष्ठ नेता दीपक बोहराको संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति गठन गरेको छ। समितिका सदस्यमा महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देन र नेता निरन्जन थापा छन्।
राप्रपाले गत फागुन ७ गते सरकारसमक्ष हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताबारे जनमतसंग्रह लगायतका २२ बुँदे मागपत्र पेस गरेको थियो।
कानुनमन्त्री भानुभक्त ढकालले सरकारका तर्फबाट अध्यक्ष कमल थापालाई आइतबार पत्र लेखी बैसाख १० गतेका लागि वार्तामा आमन्त्रण गरेका थिए। सरकारको उक्त कदमलाई राप्रपाले स्वागत गर्दै सकारात्मक रुपमा लिएको प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
सरकार र राप्रपाबीचको वार्ता मंगलबार हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।