काठमाडौं- नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकारले संविधान कार्यान्वयन हुनेगरी कानुन निर्माणको कामलाई अघि बढाउन नसकेको आरोप लगाएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका भएका संयोजक भट्टराईले संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्धलाई व्यवस्थित बनाउन सरकारले प्रस्ताव गरेको राष्ट्रिय समन्वय परिषद् र प्रदेश समन्वय परिषद् पनि व्यावहारिक नभएको दाबी गरे।
सोमबार ललितपुरमा डा रुद्र शर्माद्वारा लिखित ‘नेपाल, भारत र अमेरिकामा संघीय विवाद निरुपण’ पुस्तकको विमोचन गर्दै उनले वित्तिय संघीयता र प्राकृतिक स्रोत साधनको बाँडफाँटसम्बन्धी विवाद नेपालको संघीयता कार्यान्वयनको विवादको मूल विषय रहेकाले सो विवाद निरुपणका लागि व्यापक बहसको जरुरी रहेको पनि स्पष्ट पारे।
कार्यक्रममा बोल्दै पूर्वसभामुख दमननाथ ढुंगानाले संघीयता कार्यान्वयनका लागि सरकारले सबै प्रदेशको सन्तुलित विकासमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याए। उनले सबै प्रदेशको समुचित विकास गरेर एकीकृत राष्ट्रिय भावनाको विकास गर्नु नेपालको संघीयताको मूल चूरो भएको उल्लेख गर्दै सोही अनुसारको कामलाई अघि बढाउन पनि सरकारलाई सुझाव दिए।
प्रदेश सरकार नै संघीयतामा जनअपेक्षा पूरा गर्ने सरकार भए पनि सोही अनुसारको अधिकार प्रत्यायोजन हुन नसकेको पुस्तकका लेखक शर्माले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।