बेलझुन्डी (दाङ)- आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको प्रतिस्पर्धामा श्रीमान्-श्रीमाती नै स्वर्ण जित्न सफल भएका छन्। दाङको बेलझुन्डी रंगशालमा भइरहेको एथ्लेटिक्सको प्रतिस्पर्धामा सशस्त्र प्रहरी बलका खेलाडीद्वय सीला चौधरी र निरप्रताप महतोले २-२ स्वर्ण जितेका हुन्। नातामा श्रीमान् श्रीमती उनीहरुले समग्रमा भने पाँच पदक घर लान सफल भए।
सीलाले हाइजम्प र ट्रिपलजम्पमा स्वर्ण जितिन् भने लङजम्पमा रजतमा चित्त बुझाइन्। निरप्रतापले चार सय मिटर दौड र चार गुणा चार सय मिटर दौड गरी २ स्वर्ण जित्न सफल भए। सीलाले आइतबार ट्रिपलजम्पमा स्वर्ण जितेकी थिइन्। निरप्रतापले दुवै स्वर्ण आइतबार हात पारे।
हाइजम्पमा सीलाले १.५० मिटर नाघेकी थिइन्। उनले आर्मीकी संगिता सिंजालीलाई पछि पारेकी थिइन्। ट्रिपल जम्ममा स्वर्ण जित्ने क्रममा उनले ११.१४ मिटर पार गरेकी थिइन्। यो स्पर्धा उनले उनले प्रदेश ५ की पूजा चौधरीलाई हराएर स्वर्ण पदक हात पारिन्।
सीला लङजम्पमा भने दोस्रो भइन्। उनी आर्मीकी कृष्णा चौधरीसँग पछि परिन्। कृष्णाले ५.२१ मिटर नाध्दा सीलाले ५.१४ मिटर पार गरेकी थिइन्।
निरप्रतापले पुरुष ४ सय मिटरमा स्वर्ण जित्दा निर्धारित दूरी ४९.९ सेकेन्डमा मा पार गरे। दोस्रो स्थानमा आएका सशस्त्रकै शिवराज पार्कीले ५०.५ सेकेन्डमा निर्धारित दूरी पार गरेर रजत हात पारेका थिए। प्रदेश १ का प्रकास दनुवार ५०.६ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए।
निरप्रतापले चार गुणा चार सय मिटर रिले दौड पनि स्वर्ण जित्न सफल भए। उनीसहितको एपिएफको टिमले निर्धारित दूरी ३ मिनेट ३४.१ सेकेन्डमा निर्धारीत दूरी परेका थिए। यो स्पर्धामा आर्मीले रजत र प्रदेश ५ ले कास्य जित्न सफल भयो।
निर नवलपरासीकी हुन् भने सीला बाँकेकी। पाँच वर्षअघि निर एपिएफको मुक्तिनाथ बाहिनीमा थिए। त्यहाँ उनी भलिबलका खेलाडी थिए। त्यहाँबाट छनोट भएर सशरस्त्रको हेडक्वार्टरमा पुगे। त्यहाँ दौडको पनि प्रतिस्पर्धा देखेपछि उनले दौडमा पनि भाग लिए। उनले त्यतिबेला सय र २ सय मिटरमा स्वर्ण जिते।
त्यसपछि उनी एथ्लेटिक्सका खेलाडी बने। अनि भेट भयो सीलासँग। त्यो भेट बिस्तारै माया परतिमा परिणत भयो। अनि उनीहरुले २ वर्षअघि विवाह गरे। अहिले दुवैले स्वर्ण जिते पछि उनीहरुको जीवनको अर्को खुसी भित्र्त्रिएको छ। निरले खुसी साट्दै भने,'आज जीवनकै खुसीको क्षण मध्ये एक हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।