काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी मंसिर मसान्तभित्र भूकम्प प्रभावित सबै जिल्लाका प्रत्येक वडामा इन्जिनियर परिचालन गर्ने भएको छ।
प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको अध्यक्षतामा बिहीबार बसेको प्राधिकरणको ९२औं बैठकले हालै नियुक्त गरिएका प्राविधिक जनशक्तिलाई आगामी मंसिर ७ देखी १५ सम्म अभिमूखीकरण तालिम दिई मंसिर मसान्तसम्म प्रभावित ३१ जिल्लाका प्रत्येक वडामा खटाउने निर्णय गरेको हो।
आगामी मंसिर १७ गतेसम्म इन्जिनियरहरुलाई रमाना दिई २५ गतेसम्म कार्यक्षेत्रमा पठाउने प्राधिकरणको तयारी छ।
यसैगरी, बैठकले आगामी पुस मसान्तभित्रै सम्पन्न हुनेगरी भूकम्प प्रभावित सबै जिल्लाका गाउँपालिका र नगरपालिकामा रहेका थप ५४ हजार डकर्मीलाई भूकम्प प्रतिरोधी घर निर्माण सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ।
प्राधिकरणले भूकम्प प्रभावित १४ जिल्लामा पहिलो तालिम लिन छुटेका गाउँपालिका तथा नगरपालिकासहित कम प्रभावित १७ जिल्लाका गाउँपालिका तथा नगरपालिकालाई समेट्ने गरी ७ दिने सीप विकास तालिम सञ्चालन गर्न लागेको हो।
तालिम लिनुपर्ने ५४ हजारलाई के–कसरी दिन सकिन्छ भनी स्पष्ट खाका बनाई आगामी मंसिर ३ सम्म प्राधिकरणमा पेश गर्न बैठकले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई निर्देशन दिएको छ।
भुसालका अनुसार प्राधिकरणले सरकारी सार्वजनिक र वन क्षेत्रमा घर भएका र रट्रोफिटिङका लागि सिफारिस भएका लाभग्राहीलाई पूर्ण लाभग्राही बनाई अनुदान सम्झौताको प्रक्रिया अघि बढाउने र गुनासो व्यवस्थापन प्रक्रियाबाट प्राप्त हुन आएको १३औं ब्याचबाट लाभग्राही सूचीमा पेश भए बमोजिमका ८ सय ४८ व्यक्तिको नामावली स्वीकृत गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।