म नागडाँडामाथिको सानो पहाडलाई फनक्क घुमेर काडे पुग्दा मानिसहरु भर्खर पसल खोल्न लागेका थिए। जस्ताले बारेर बनाएका लस्करै घरहरुमा टिमिक्क मिलाएर उत्तिसका फलेकहरु राखिएका छन्। मलाई यस्तो पुरानो बजार देख्यो कि बाल्यकालको खूब सम्झना आउँछ। आफ्नो आयतन बढाउन पनि नसक्ने, खुम्च्याउन पनि नसक्ने यस्तो बजारमा म फरक किसिमको अपनत्व अनुभूति गर्छु।
आधाजस्तो पिच उध्रिएको यो पुरानो बाटो हुँदै एक घन्टा जस्तो अघि बढ्यो भने, कुश्मा बजार नआउँदै टिनैटिनले बनेको एउटा सानो बस्ती आउँछ, सुन्दरेखोला। मैले बाह्रखरी नसिक्दै हजुरबुवा त्यहाँ पसल गर्नुहुन्थ्यो। वनस्पति घ्यू आउने टिनका भाँडामा मट्टिटेल बेच्न राखिन्थ्यो। सबका सब पसलमा मट्टितेलको गन्ध आउँथ्यो। मेरो अचेतन आज पनि त्यहाँ पुग्दा त्यही मट्टितेलको गन्ध खोजिबस्छ।
हुस्सुका स-साना झोक्का कालो खिया बसेका जस्तालाई स्पर्श गर्दै उकालो लागे। लुगलुग काम्ने चिसो त छैन, तर यो नेपालको चेरापुन्जीमा बसेर अदुवा मिसाएको एक कप चिया नखाएसम्म उकालो लाग्नै मन लागेन। यो खोंच कस्तो अचम्मको! जस्तो पानी पर्छ, उस्तै चिसो सिरेटो चल्छ। च्यांग्राको छालाले मोडेको एउटा मुडा ताने, र बस्दै भने 'दिदी, एक गिलास चिया।'
साहुनीले इसाराले हुन्छ भनिन्। म बसेको मुडाले भर्खर तिनले लिपेर गएको पेटी उप्कायो। मनमनै माफी मागेँ। अहिले तिनको वाचाल हृदयमा पहिलो ग्राहक पाएको खुसी होला कि पुरानो गाउनको फेरो हिलाम्मे पार्दै पोतेको पेटी उध्रेको आक्रोश? जे होस्, साहुनी केही बोलिनन्, मलाई भने थकथकी लागिरह्यो।
साहुनीले माटोको चुल्होमा आगो सल्काइन् र सिलाबरको दिउरीमा चिया उमाल्न थालिन्। साहुनीको अनुहारमा ज्वालाको सानो सोडियम उज्ज्यालो पोखियो, चिसोले गाला फुटेर परेका चिरा काला भएका थिए। साहुनीको छातीमा हेर्नेबित्तिकै काखे बच्चा छ, हुर्कंदै छ जस्तो लाग्थ्यो। वक्षको वरिपरि आलो दूध सुकेका टाटा देखिन्थे। मलाई यस्ता नारीको शरीरबाट आउने (सु)गन्धमा अलौकिक मातृस्नेह अनूभूति हुन्छ।
साहुनीले चियादानीले सुस्तरी चिया फिट्न थालिन्, मानौं अबका दिनहरुलाई पनि उनी यसरी नै फिटेर बाँड्दिन चाहन्छिन्। म साहुनीलाई नियाल्दै ट्र्याकको गोजीबाट एउटा सूर्य निकालेर सल्काउँदै धूवाँ हुस्सुमै मिसाएँ। उनले शीशाको पाटा परेको गिलासमा चिया ल्याएर मलाई थमाइन्।
यायावर बनेर यात्रामा निस्केको छु आज। लान्द्रुक पुगेर बस्ने योजना तुनेर निस्केको हुँ। यहाँबाट लगभग एक घन्टाको ठाडो उकालो हिँडेर अस्ट्रेलियन बेसक्याम्प पुगिन्छ, त्यसपछि लगातार तीन-चार घन्टा हिँडेर लान्द्रुक। कृषि अनुसन्धान केन्द्रको गेटलाई कोछेटे (कोल्टे) पार्दै म डाँडाको फेदतिर लम्किएँ।
माथि बेसक्याम्पबाट विदेशी पर्यटक ओरालो झर्दै थिए। मोटो तर उस्तो भद्दा नदेखिने एक बूढो पुकार खाजाघर नजिकैको चौतारीमा सुस्ताउँदै थियो।
'हेलो ! नमस्ते', उसको नमस्ते अंग्रेजी लबज मिसिएर झन् मिठो भएर आयो।
मलाई उकालो काट्नु थियो। प्रत्येक सुस्केरापछि म केही न केही ऊसँग गफिन पाउँथेँ। बाटो काट्ने गज्जबको काइदा पनि त हो यो।
'ह्वेर आर यू फ्रम?'
'फ्रान्स, एन्ड यू?' – उसले पहेला दाँत ङिच्च पार्दै बोल्यो। यतिबेला ऊ उसको उमेरभन्दा जवान लाग्यो। मैले उसलाई नेपाली भएको परिचय दिएँ।
'कति समय बस्छौ?'
'मलाई पनि यकिन छैन। हेरुँ, तेरो देशको हिमालले कति लोभ्याउँछ!'
'कहाँ पुग्ने योजना छ?'
'म योजना बनाउँदिनँ।'
कस्तो अप्ठेरो मान्छे! प्रत्येक प्रश्नको अन्टसन्ट मात्र जवाफ दिन्छ। प्रत्येक गोरा यति दिन यति हप्ता बस्छु भन्थे, यो कि म जस्तै यायावर हो या मसँग यस्तै जवाफ दिने मुडमा छ।
'किन योजना बनाउँदैनौ?'
'मलाई योजनाहरुको सुखद सुरुवात हुन्छ भन्ने थाहा छ।'
'योजनाहरुले अन्त्य पनि त सुखद ल्याउँछन्।'
'हो ! मलाई थाहा छ, योजनाहरु सुखद अन्त्यका लागि बनाइन्छ। तर, अन्त्य योजना जत्तिकै सुखद हुँदैन। मसँग यसको लामो अनुभव छ।'
'कस्तो अनुभव?'
'हरेक रात योजना अस्ताएको र हरेक रात योजना उदाएको हेरेर बिताएको नमीठो अनुभव।'
'के अन्तिम पटक योजना उदाएको दिन उस्तै रह्यो?'
'रहेन, तर योजनाको अर्थ खोसियो।'
उसले बलियो असहमति राख्यो। हँ? के यो बूढोले सही भनिरहेछ? हो, सोचेअनुसार योजनाको अन्त्य भएन भने त्यसभन्दा नमज्जा के होला!
'के तिमी यही कारणले मात्र योजना बनाउँदैनौ?'
मेरो यो प्रश्न खस्न नपाउँदै उसले आँखा चिम्सा पार्यो। अनुहारको भाव बदलिएर अर्को एक झोक्का रातो पोतियो। भर्खरै धमनीमा आएको रगत अनुहारबाट फर्केन क्यार।
'होइन! खास मेरो जिन्दगी आवेगको आगोमा जलेर सकियो। आवेग जसले योजना बिगार्छ, अर्थात् योजनामा आवेग हुँदैन।'
ऊ यति भनेर शान्त भयो। सोचेँ, यसले अति गम्भीर कुरा सामान्यीकरण गर्न भ्यायो।
मैले झोलाको बाहिरी जाली-खल्तीबाट पानीको बोतल निकालेर पिएँ। उसले मतिर पुर्लुक्क हेर्यो।, मायालु पारामा। साँच्ची, पहिलो पटक उसको आँखामा संवेदना पोखियो।
'योङ्ग म्यान' – उसले जिस्कँदै बोल्यो।
'यस ओल्ड म्यान।'
'मैले तेरो जस्तै उमेर ला सान्तेमा बिताएँ, अर्थात् जेलमा। म पूर्वकैदी हुँ।'
कतै पढेको सम्झिएँ- ‘ला सान्ते’ पेरिसको कुख्यात जेल हो।
'म हरेक बिहान जेलबाट भाग्ने योजना बनाउँथेँ। लिटल म्यान, त्यहाँको सुरक्षा एकदम कडा छ, तर पनि म योजना बनाउँथेँ। प्रत्येक रात म जेलबाट निस्किने योजना बुन्थेँ। म मात्र होइन, संसारका सबै कैदी सायद यसै गर्छन्। तर, रात त्यस्तो हुँदैनथ्यो, यसै उज्यालो भइजान्थ्यो। मेरो समय उज्यालो-अँध्यारोले होइन, मेरो सोचाइले निर्धारण गर्थ्यो। जस्तो कि मेरो साँझ जम्मै जेलबाट भाग्ने योजनाको उकुसमुकुसमा बित्थ्यो।'
उसले यति भनेर लामो सास फेर्यो।
'कति दिन बितायौ जेलमा?'
'जम्मै जवानी', यसो भन्यो र मुस्कुरायो।
'के गर्यौ र त्यस्तो?'
'आई एम मर्डरर अफ माई लभ एन्ड लाइफ…' उसको भनाइ नसकिँदै मैले ऊतिर हेरेँ, ऊ कतैबाट अपराधी देखिँदैनथ्यो। मलाई विश्वास नै लागिरहेको थिएन। ऊ त पेन्सनर आर्मी जस्तो देखिन्थ्यो।
बाटो उकालो सकिएर तेर्सो लाग्यो, अघि छोपिएको माछापुच्छ्रे कोछेटे (कोल्टे) पर्दै देखिन थाल्यो। बूढोले झोला बिसायो र क्यानन क्यामेरा निकाल्यो।
लामा आँखीभौंले छोपेका आँखाले लेन्समा हेर्दै थियो, मैले अनायासै सोधेँ, 'कसरी मार्यौ?'
'वाइनको ग्लासले', उसले छोटो जवाफ दियो। मलाई भने जवाफ रुखो लाग्यो। यसले गिलासलाई हतियार बनाइदियो।
'को मार्यौन?'
'प्रेमिका' – यतिखेर भने उसले मतिर हेरेन, सायद अपराधबोध गरिराखेको होला।
ढुंगाले बारेको पर्खालको मुनि सानो चउरमा केटाकेटीहरु पिङ खेलिरहेका थिए। हामी छेउको गेस्टहाउस अगाडि बस्यौं।
उसले समातिराखेको लट्ठी छेउमा राख्यो र बोल्यो, 'मेरी एमी त्यसदिन खूब राम्री देखिएकी थिई। हामी आरोनको बर्थडे मनाउने सुरसार गर्दै थियौं। लिटल म्यान, आरोन हाम्रो छोरो हो। म कसरी भनूँ, आरोन पाँच वर्षको भएको थियो, तर एमी कुनै हालतमा विवाहित देखिँदैनथी। बर्थडे पार्टी सकिँदासम्ममा मैले अलिक धेरै पिइसकेको थिएँ। एमी पाब्लोसँग जिस्किरहेकी थिई, पाब्लो मेरो अफिसको हाकिम थियो, तर मेरै उमेरको।'
यति भनेर लामो सास तान्यो।
'मलाई दुवैसँग खूब रिस उठेको थियो। विशेषगरी पाब्लोसँग, सायद अफिसको हाकिम भएर पनि होला। हत्तपत्त प्यालाको वाइन फालेर टेबलको डिलमा हिर्काएँ। क्या अजीव हतियार बन्यो त्यो!'
अनि?' – मैले यस्सै सोधेँ। नसोधेको भए पनि बूढो रोकिनेवाला थिएन। बरु उल्टै मेरो शब्द बुझ्न एकछिन अल्मलियो।
'मैले पाब्लोलाई ताकेर गिलास उठाएँ। तर, ऊ एमीको पछिल्तिर सोफाको ग्यापमा पल्टियो। अनि नसोचेको भयो, ग्लास एमीको छातीमा गाडियो। पाब्लो त्यहाँबाट भाग्यो।'
'के तिमीले त्यति मात्रै गर्यौ?'
'होइन, मलाई एमीको छातीमा दाग लागेको कत्ति मन परेन। कताकता अलि नमिलेको लाग्यो। बरु सोचेँ, दाग पनि मिलेर लागोस् र अर्को पटक हिर्काएँ। मलाई अहिले सम्झना छैन, कति पटक हिर्काएँ।'
उसले यति भन्दा उसका आँखामा एक भुल्को मूल रसायो।
'मैले प्रेम र जिन्दगी दुवैको हत्या गरेँ', उसले फेरि बिस्तारै बोल्यो।
'होइन, तिमीले योजनाको समेत हत्या गरेछौ। त्यसैले तिमीले फेरि योजना नै बनाउन सकेनौ', म बोलेँ।
'हाउ? लिटल म्यान!'
'के तिमीले एमीसँग कुनै योजना बनाएनौ? आरोनबारे केही सोचेनौ?'
'थिए नि, किन नहुनु! पेरिसको बाहिरपट्टि एउटा सानो घर बनाउने योजना। अँ साँच्ची, हामी अर्को छुट्टी मोनाकोमा बिताउन चाहन्थ्यौं।'
'हो, तिमीले त्यसको पनि त हत्या गर्यौ। त्यसपछि तिमीलाई योजनाहरुले कहिल्यै साथ दिएनन्!'
'लिटल म्यान, यु आर करेक्ट! अँ त है, मैले योजनाको पो हत्या गरेछु।' के सोच्यो खै बूढोले, ऊ एकतमास मुस्कुरायो।
मैले एक कप कालो चिया मगाएँ। बूढोले केही मगाएन।
'तिमीले दुई सेट योजनालाई मारिदियौ', मैले भनेँ।
'कसरी?', उसले आँखीभौं खुम्च्यायो।
'एमीका र तिमीहरुको साझा।'
'त्यसो भए चार योजना भन्नु ठीक हुन्छ। म थिएँ, आरोन पनि त थियो।'
'अँ, ठीक छ। के तिमी स्विकार्छौ, योजनाबिना मान्छे बाँच्न असम्भव छ?'
'इलाबोरेट लिटल म्यान।'
'तिमीसँग तिमीले एमीको हत्या गर्नुअघि कति योजना थिए? तिमी यो कुरा अस्वीकार गर्दैनौ होला, तिमीसँग त्यसपछि पनि योजना थिए, जस्तो: कुन वकिल भेट्ने, अदालतमा के भन्ने वा जेलबाट कसरी भाग्ने…' , मैले चिया सुरुप्प पार्दै यति बोले।
'त्यो त हो।'
'एब्सोलुट्ली! योजनाको हत्या असम्भव छ, जबसम्म तिमीले मान्छे मार्दैनौ। नत्र योजनाले प्रारूप परिवर्तन गरिरहन्छ, तर मर्दैन।'
बूढो एकछिन कतै हरायो र बोल्यो, 'हो, मैले दुई सेट योजनाको हत्या गरेको रहेछु।'
काठमाडौं भएको बेला नीतिकाले सौराहा घुम्न जाऊ भनेकी थिई। उसले मसँग जान खूब रहर गरेकी थिई, मैले हुन्छ पनि भनेको थिएँ। तर, कुन लहडले म यता हान्निएँ। पोखरा आएपछि उता जान मन लागेन। मैले यस्तो धेरै पटक गरेको छु, उसले मसँगै देखेको योजना गलहत्याएको छु। पटकपटक मसँग देखेको योजना लत्याउनु र मान्छे मार्नुमा खास अन्तर के नै रह्यो र! मैले आफैंलाई पनि त कैयौं पटक मारेँ। मलाई एक्कासी एउटा अपराधबोधले छोप्यो।
'लिटल म्यान, आर यू ओके?' – बूढोले यसो भन्दा म झसंग भएँ।
'आई एम गुड। तर, एकछिन है।'
ब्याकप्याक उठाएँ, लट्ठी समाएँ र गेस्टहाउसबाट तेर्सो लागेँ। तल पोखरा, फेवामाथि हिमाल उभिएको डाँडाको टाँकुरामा 'वे टु धम्पुस' लेखिएको थियो। धम्पुसबाट सीधै ओरालो लाग्यो भने फेदी हुँदै पोखरा पुगिन्छ। हो, म त्यतै लागेँ, जहाँ मसँगै कसैले योजना बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।