कैलाली– राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम कैलालीमा कार्यरत सडक मर्मतकर्ताहरु तलब नपाएको भन्दै आन्दोलित भएका छन्।
चार महिनादेखि तलब नपाएको भन्दै उनीहरुले बिहीबार जिल्ला प्राविधिक कार्यालय घेराउ गरेका छन्। तलब नपाउँदा ७६ परिवार समस्यामा परेका छन्। काम गरेको पैसा नपाउँदा ऋण निकालेर घरखर्च चलाउनुपरेको उनीहरुले गुनासो गरे।
चेरीया चौधरी र मनकुमारी चौधरीले साझा दुखेसो सुनाए, ‘चार महिनादेखिको तलब पाइएको छैन। ब्याजमा ऋण निकालेर घरखर्च चलाउनुपरेको छ।’
जिल्ला प्राविधिक कार्यालय कैलालीका प्रमुख जिल्ला इञ्जिनियर मनिष अर्यालले कामदारहरुको तलब आउन अझै एक महिना लाग्ने बताएका छन्। स्थानीय तह विभाजनसँगै राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमका नियमहरु परिवर्तन भएकाले समस्या भएको उनको भनाइ छ।
कैलालीमा ३ वर्षअघि सुरु भएको राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम विभिन्न स्थान गरी एक सय ५३ किलोमिटर सडकमा सञ्चालन भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।