घोराही- नेपाली ब्याडमिन्टनमा नेपाल आर्मीका तामाङ दिदीभाइ नङ्शलदेवी र रत्नजितको एक छत्र राजलाई तोड्दै सशस्त्र प्रहरीका दिपेश धामी र रशिला महर्जनले नयाँ इतिहास रच्न सफल भएका छन्।
सेनाका रत्नजित तामाङको एक छत्र राज लाई तोड्दै सशस्त्रका दिपेश धामी नयाँ राष्ट्रिय च्याम्पियन भएका छन्। आठौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दिपेशले स्वर्ण जितेर नयाँ इतिहास रचेका हुन् दाङको घोराहीस्थित कभर्डहलमा भएको उपाधि भिडन्तमा दिपेशले रत्नलाई २१-१६ र २१-१४ को सोझो सेटमा पराजित गर्दै इतिहास रचेका हुन्।
विगत ४ राष्ट्रिय प्रतियोगितामा जित निकाल्दै आफ्नो वर्चस्व बनाएका रत्नजित सशस्त्रका दिपेश धामीसँग पराजित भएका हुन्। २०६९ सालमा काठमाडौंमा भएको ३६ औं राष्ट्रिय प्रतियोगितामा तत्कालिन नम्बर एक खेलाडी विकास श्रेष्ठलाई पराजित गर्दै नम्बर एक भएका रत्नले त्यस पश्चात फर्केर हेर्नु परेका थिएन। तर बेलाबेला उनलाई दिपेश धामी र प्रिन्स दाहालले चुनौती दिँदै आएका थिए।
यसै प्रतियोगिता अन्तर्गत पनि पुरुष टिम इभेन्ट्सको पुरुष एकलको सेमिफाइनलमा प्रिन्सले तथा फाइनलमा दिपेश धामीले उनलाई पराजित गर्दै नयाँ राष्ट्रिय च्याम्पियन जन्मने सुचित गरिसेका थिए दिपेशले यसअघि रत्नजितलाई अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा पनि पराजित गरिसकेका थिए ।
यसैगरि नयाँ इतिहास रच्ने क्रममा आर्मीकी रशिला महर्जनले नङ्खशललाई १९-२१, २१-१४ र २४-२२ ले पराजित गर्दै आफूलाई राष्ट्रिय च्याम्पियनको रुपमा नाम दर्ता गर्न सफल भइन्। १४ वर्षकी उनले हालै मात्र सम्पन्न कृष्ण मोहन स्मृती राष्ट्रिय ब्याडमिन्टनमा पनि उपाधि हात पारेकी थिइन्।
उनी कक्षा ९ मा अध्ययनरत छिन्। ब्याडमिन्टनको इतिहासमा राष्ट्रिय च्याम्पियन बन्ने उनी अहिले सम्मकै कान्छी खेलाडी रहेको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।