आर्मीका रिता गुरुङ, उनले ५० केजीमा ३ वटा राष्ट्रिय कीर्तिमान बनाइन्।
नेपालगन्ज- आठौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलमा शुक्रबार ११ राष्ट्रिय कीर्तिमान बनेका छन्।
महिला ४५ केजी तौल समूहमा नेपाल आर्मीकी रिता गुरुङले तीन वटा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन्। रिताले स्न्याच, क्लिन एन्ड जर्क र कुल गरी तीन वटा राष्ट्रिय कीर्मिमान बनाएकी हुन्। उनले स्न्याचतर्फ ४५ केजी उठाउँदै राष्ट्रिय कीर्तिमान बनाइन्। यस्तै क्लिन एन्ड जर्कतर्फ ५० केजी भार बहन गर्दै अर्को कीर्तिमान बनाइन्। उनले समग्रमा ९५ केजी तौल उचालेर उनले तेस्रो रेकर्डसहित स्वर्ण जितेकी हुन्।
यो तौल समूहमा प्रदेश ५ की हिरामोती चौधरीले रजत जित्दा प्रदेश २ की काजल सदाले कास्य जितिन्।
महिलाकै ४९ केजी तौल समूहमा नेपाल पुलिसकी संगीता राईले पनि तीन वटा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन्। उनले स्न्याच, क्लिन एन्ड जर्क र समग्र गरी तीन वटा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी हुन्। उनले स्न्याचमा ५८ केजी भार बहन गरेर कीर्तिमान बनाइन्। यस्तै क्लिन एन्ड जर्कमा ७५ केजी उचालेर नयाँ कीर्तिमान बनाएकी उनले समग्रमा १ सय ३३ भार बहन गरेर अर्को कीर्तिमान रचिन्।
यो तौल समूहमा प्रदेश १ की करिना चौधरीले रजत र प्रदेश ५ की पवित्रा थापामगरले कास्य जितेकी छिन्।
पुरुष ५५ केजी समूहमा पनि नेपाल आर्मीका तुलाराम महतोले २ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते। उनले स्न्याच र कुलमा गरी २ वटा राष्ट्रिय कीर्तिमान बनाएका हुन्। स्न्याचमा उनले ८० केजी तौल उठाए। क्लिन एन्ड जर्कमा ९५ केजी उठाएका महतोले कुलमा १ सय ७५ केजी तौल उठाएर स्वर्ण जितेका हुन्।
यो तौल समूहमा नेपाल पुलिसका गणेश रानाभाटले रजत र प्रदेश ७ का रविलाल चौधरीले कास्य हात पारे।
पुरुष ६१ केजी तौलमा नेपाल आर्मीका राजु चौधरीले स्वर्ण जित्दा २ वटा राष्ट्रिय कीर्तिमान बनाए। चौधरीले क्लिन एन्ड जर्क र कुलतर्फ राष्ट्रिय कीर्तिमान बनाएका हुन्। उनले स्न्याचमा ९० केजी उठाएका थिए। क्लिन एन्ड जर्कमा १ सय १० केजी उठाएका चौधरीले राष्ट्रिय कीर्तिमान बनाए। यस्तै कुलमा २०० केजी भार बहन गर्दा उनी राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्न सफल भए।
यो तौल समूहमा नेपाल पुलिसका मुल लामाले स्न्याचतर्फ राष्ट्रिय कीर्तिमान बनाए। उनले स्न्याचमा ९२ केजी तौल उठाए। क्लिन एन्ड जर्कमा १ सय १० केजी मात्र उठाएपछि उनी रजत पदकमा खुम्चिए। उनी कुलमा ३ केजीले पछि परेका थिए। कुलमा १ य ८१ तौल उठाएका आर्मीका सन्तोस थपलियाले कास्य जिते।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।